काठको ७० तले गगनचुम्बी भवन बनाइने

२०७४ फाल्गुन ९ गते, बुधबार

काठमाडौं, ९ फागुन । जापानको एक कम्पनीले काठबाट ७० तले गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । यो भवन विश्वमै काठबाट बनेको सबैभन्दा ठूलो भवन हुने बताइएको छ । सुमितोमो फरेस्ट्री कम्पनीले आफ्नो ३५० औं वार्षिकोत्सवका अवसरमा यस्तो भवनको तयारी गरेको हो । ७० तले ‘डब्ल्यु ३५०’ टावर निर्माणका लागि एक लाख ८० हजार घनमिटर काठ लाग्ने कम्पनीको अनुमान छ । यो भवनको १० प्रतिशत हिस्सा भने स्टिलले ओगट्नेछ । भूकम्पबाट जोगाउनका लागि काठ र स्टिलको स्तम्भसहित ‘ब्रेस्ड ट्युब स्ट्र्क्चर’ रहने जनाइएको छ । यो भवनमा ८००० परिवारका लागि आवासको व्यवस्था गरिनेछ । प्रत्येक बालकनीमा वनस्पति हुने पनि कम्पनीले जनाएको छ । भवन ६० बिलियन येनको लागतमा निर्माण हुने अनुमान छ । यो भवनका लागि यसै आकारका पारम्परिक भवन बनाउनभन्दा झण्डै दोब्बर बढी खर्च हुने कम्पनीले जनाइएको छ । यो भवन सन् २०४१ मा तयार पार्ने कम्पनीको योजना छ । त्यतिबेलासम्म प्रविधिको विकासले भवन निर्माणको लागतमा कमी आउनसक्ने पनि कम्पनीले जनाएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु