कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं,१३ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा संविधान संशोधन, स्थानीय तह निर्वाचन र पार्टीको आन्तरिक संगठन व्यवस्थापनलगायतका विषयमा छलफल गरिनेछ । बैठकमा सभापति देउवाले नेतृत्व लिएको एक वर्षमा संगठन झन् शिथिल भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी जनाउने देखिएको छ । देउवाले कांग्रेसको नेतृत्व लिएको यही चैत ५ देखि एक बर्ष भएको छ । दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउन नसकेको भन्दै पौडेल पक्षले आलोचना गर्दै आएको छ । केन्द्रीय कार्यसमितिको बैठकसमेत नियमित गर्न नसकेको आरोप देउवामाथि छ । पौडेल समूहले त पार्टीलाई सामूहिक पद्धतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवालाई पत्र नै बुझाएका थिए ।
यद्यपि, यसै बैठकमार्फत केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने तयारीमा सभापति देउवा छन् । कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने र विभाग प्रमुखको जिम्मेवारी पनि तोक्न उनले नेता पौडेलसँग छलफल गरिसकेको बताइएको छ । स्थानीय तहको निर्वाचनको घोषणापत्र बनाउन समिति गठन, विभागको आवश्यक संख्या, निर्वाचन परिचालन सम्वन्धी बिषयलगायत विषयमा पनि छलफल हुने छ । पार्टी संरचना र विधानलाई प्रादेशिक संरचना अनुसार समायोजना गरिने तयारी पनि गरिँदै छ ।

प्रतिक्रियाहरु