कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउने उदघोष

२०७४ माघ ३ गते, बुधबार

काठमाडौं, ३ माघ । कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको थियो । गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका तीन नेताले सात महिनापछि अब सशक्त ढंगले पार्टीमा प्रस्तुत हुने सहमति गरेका छन् । मंगलबार गिरिजापुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले खानासहित तीन घन्टा छलफल गरेका थिए । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले व्यहोर्नुपरेको नमिठो हारको समीक्षा र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनेबारे कुराकानी भएको थियो । बिहीबारका लागि चुनावी समीक्षासहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएपछि भएको कोइराला परिवारका तीन नेताको भेटलाई महत्वका साथ हेरिएको छ । झन्डै दुई वर्षअघि सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस नेतृत्व कोइराला परिवारबाट शेरबहादुर देउवाको हातमा पुगेको थियो । महामन्त्रीमा बीपीपुत्र शशांक निर्वाचित भएका थिए । तर, त्यसयताका निर्वाचनमा कांग्रेस नेतृत्वकै कारण कमजोर भएको र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको तीनै नेताको निष्कर्ष छ ।
कांग्रेसनेतृ सुजाता कोइरालाले निर्वाचनपछि पार्टी कमजोर बन्दा आफूहरूलाई चिन्ता भएको भन्दै पुरानै साख र छवि फर्काउन निरन्तर छलफल गरेको जानकारी दिइन् । ‘निर्वाचनपछि कांग्रेसको संगठन कमजोर भएको देखियो । गुट, उपगुट र झगडाको राजनीतिले हामी कमजोर भएका छौँ,’ उनले भनिन्, ‘अब सधैँ यसैगरी कांग्रेस कमजोर रूपमा चल्न सक्दैन । कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन हामीले छलफललाई निरन्तरता दिएका हौँ ।’ कोइराला परिवारका तीन नेताले कांग्रेसमा झाँगिँदो गुटका झुन्डझुन्डलाई एउटै कित्तामा उभ्याउन भूमिका खेल्ने निर्णय गरेका छन् । ‘पार्टी संस्थागत ढंगले चल्न सकेन, नेतृत्व कमजोर भयो । जसको परिणाम राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कमजोर हुनुले देखाएको छ,’ नेता शेखर कोइरालाको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘कांग्रेसको अन्तर्राष्ट्रिय छवि किन बिग्रियो ? कांग्रेसले विचार गर्नुपर्छ । यसका लागि बलियो कांग्रेस चाहिन्छ । अब झुन्डझुन्डलाई एउटै र पुरानोजस्तो एउटै कित्तामा उभ्याउन तीनजनाले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’
अर्को महिना तीन नेता शेखरनिवास महाराजगन्जमा जम्मा हुँदै छन् । नेतृ सुजाताले अब शेखर कोइरालानिवासमा छलफल हुने जानकारी दिइन् । ‘हामी पालैपालो छलफल गर्दै छौँ । शशांकको पछि मैले गरंँ, अब शेखरदाकोमा छलफल राख्नुपर्छ भनेर मैैले नै प्रस्ताव गरेकी छु,’ उनले भनिन् ।
तीन नेता पार्टीमा आफ्नो परिवारको वर्चस्व गुमेको र कांग्रेस कमजोर भएपछि आफूहरू पुनः मिलेर अघि बढ्नुपर्ने साझा सहमतिमा पुगेका छन् । तर, १४औँ महाधिवेशनसम्म कसले नेतृत्व गरेर जाने भन्नेमा टुंगोमा पुगेका छैनन् । अहिले नै नेतृत्वमा दाबेदार देखिँदा आफ्नो पक्षका नेता भड्किन सक्ने भएकाले उनीहरूले कोइरालाहरूको तर्फबाट नेतृत्व गर्ने व्यक्ति तत्काल घोषणा गरेर नजाने नीति लिएका छन् । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु