कांग्रेसद्वारा सदन चल्न नदिने निर्णय

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौं, २ साउन । डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने निर्णय गरेको छ । डा. केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको छ। सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन पनि चल्न नदिने निर्णय गरेको हो ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा बसेको कांग्रेस पदाधिकारीसहितका नेताहरुको बैठकले जुम्लामा आमरण अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय पनि भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस्तै, प्रतिपक्षी दल कांग्रेसले संविधानअनुसार संघीय संसद र प्रदेश संसदमा सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थालाई जोडतोडका साथ उठाउने प्रवक्ता शर्माले जानकारी दिए । अहिले संघीय संसद र प्रदेश संसदमा सभामुख र उपसभामुख एउटै पार्टीका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु