‘कहरिया–बजनियाँ’ बिहे संस्कृति लोप हुँदै

२०७१ श्रावण १ गते, बिहीबार


काठमाडौं । पारम्परिक बजनियाँद्वारा बजाइने मङ्गलधुनको मधुर तरङ्गमा महफा (डोली) मा बसी धोती, कुर्ता, पाग र दोपट्टामा सजिएर विहे गर्न जाने मिथिलाञ्चलको कहरिया–बजनियाँ संस्कृति अचेल लोप हुन थालेको छ ।खरखरिया (बाङ्गो बाँसको बिँड भएको विशेष डोली) मा बसेर बेहुलाको पिता, महफामा बेहुला र बेहुलीलाई ल्याउन पछिपछि जन्तीको शोभा भई जाँदा गरेको डोलीको शृङ्खला अचेल देखिन छोडिएको छ ।
यसैगरी स्थानीय बजनियाँद्वारा विवाहको शुभ अवसरमा बजाइने ढोल, पिपही, रसनचौकी, सिंहालगायतका पारम्परिक बाजा गाजाको मधुर ध्वनि पनि सुनिन छाडेको छ ।
बिहेको बेलामात्र डोलीमा चढ्न पाउने मिथिलाञ्चलको लोक मान्यतालाई आधुनिक सवारी साधनका प्रचलनले उछिनेको छ । डोलीमा बसी, ढोल–पिपही बजाएर बिहे गर्न जाने बेहुलाको सङ्ख्या थोरै भएपनि समाप्त भने भएको छैन ।
पुस्तौलीरुपमा कहारको रुपमा डोली बोक्दै आएका स्थानीय मुसहर, खत्वेलगायतका जातिसमेत कहरिया पेसालाई लाभप्रद मान्दैनन् । सामाजिक प्रतिष्ठाका लागिसमेत डोली बोक्नु उचित होइन । बघयौडा ७ का ब्रम्हदेव खत्वे भन्छन् ।
बजनियाँको हैसियतले विवाहलगायतका शुभ अवसरमा ढोलपिपही बजाउँदै आएका स्थानीय चमार जातिले पनि पारम्परिक बाजा गाजा बजाउन छाडेका छन् । अनेकौले सामूहिकरुपमा पारम्परिक बाजाको स्थानमा आधुनिक बाजा ल्याएका छन् ।
अचेल सांस्कृतिकरुपले जागरुक र कट्टरवादीले मात्र डोलीमा बसी बिहे गर्न जाने गरेको पाइन्छ ।

प्रतिक्रियाहरु