कस्ले भन्छ हात नहुनेको भाग्य हुँदैन ?

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । हाम्रो समाजमा हातका रेखाहरु हेरेर भाग्य र भविष्य बताउनेहरुको कमी छैन , त्यसमा विश्वास गर्नेहरु पनि उतिकै छैन । के त्यसो भए दुवै हात नहुनेको भाग्य नै हुँदैन ? यो कुरा धेरै हात नभएकाहरुले गलत सावित गरिसकेका छन् । त्यसैमध्येकी एक हुन् थाइल्याण्डकी पैचारामन सावाना ।
विकलांग भएकै कारण २३ वर्षको उमेरमा विद्यालयको पढाई सुरु गरेकी थाइल्याण्डकी पैचारामन सावानाको दुवै हात छैन । यति मात्र होइन, दुवै हात नभएर के भो त ? २३ वर्षको उमेरमा पढाई सुरु गरे पनि उनले मास्टर डिग्री पनि हासिल गरेकी छन् र वकालतका लागि प्रयास पनि गरिरहेकी छन् । उनले तमाम कठिनाइहरु पार गरेर यो उपलव्धी हासिल गरेकी हुन् । दुवै हात नभएका कारण सानामा उनलाई कुनै विद्यालयले भर्ना नै लिन मानेन । त्यसैले उनले त्यतिबेला अध्ययन सुरु गरिन् जब विकलांगहरुका लागि सामान्य विद्यालयमा अध्ययन गर्ने अनुमति प्राप्त भयो । कुनै समय पढ्नका लागि भर्ना समेत हुन नपाएकी सावाना अहिले स्वयम शिक्षिका हुन् । उनी हात नभएर के भो खुट्टाले नै ब्ल्याकबोर्डमा लेखेर पढाउँछिन् । उनले शिक्षण अनुभूति स्मरण गर्दै भनिन्–मलाई शिक्षणको पहिलो दिन याद छ । मैले खुट्टाले ब्ल्याकबोर्डमा लेखेको देखेर बालबालिका आश्चर्यमा थिए।
तर, उनी त्यत्तिकैमा रोकिइनन् । उनले कानुनमा मास्टर डिग्री हासिल गरिन् । त्यसैले अहिले उनी भन्छिन्–म थाइल्याण्ड बारमा वकिलको लाइसेन्सका लागि आवेदन दिइरहेकी छु । म वकिल बनेर र अरुलाई पढाएर गुजारा चलाउन चाहन्छु । पढाईले सावानाको दायरा बढाएको छ। उनी भन्छिन्–म चाहँदिन कि कसैले यो भनोस कि म विकलांगताका कारणबाट के गर्न सक्थेँ के गर्न सक्दिनँ ….। म त्यो सबै नियम तोड्न चाहन्छु जुन विकलांग पीडितहरुका विषयमा समाजले बनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु