कविता दिवसमा ३६ कविका कविता वाचन

२०७३ चैत्र ९ गते, बुधबार

काठमाडौँ, ९ चैत । विश्व कविता दिवसका अवसरमा मंगलबार एउटै मञ्चमा ३६ कविले कविता वाचन गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागद्वारा कविता वाचन कार्यक्रममा उनीहरुले आफूद्वारा रचित कविता वाचन गरेका छन् । कविहरु श्यामल, विजय सुब्बा, शकुन्तला जोशी, ठाकुर वेल्वासे, टङ्क उप्रेती, पुरुषोत्तम सुवेदी, फूलमान वल, स्नेह सायमी, विना थिङ, यशोदा अधिकारीलगायत ३६ जना कविले एउटै मञ्चबाट कविता वाचन गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविले वाचन गरेका कविताको समीक्षा गर्दै कविता संरक्षण गर्न आफू लाग्ने बताए । उनले कविताप्रति नयाँ पुस्ताको त्यति चासो नभएकाले जागरुक गराउन आवश्यक रहेको बताए ।
प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले मानवीय ढङ्गबाट कवितालाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ विषयवस्तुमा सृजना गर्नुपर्ने भन्दै कविता सिर्जना गर्ने बानीको विकास युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । – रासस

प्रतिक्रियाहरु