कविताका दुश्मन – बलराम तिमल्सिना

२०७६ आश्विन २३ गते, बिहीबार

कवितासँग दुश्मनी
कविताबाटै गरिन्छ
कविहरूका दुश्मन
कविहरू नै हुन्छन् !

जसरी
फलामले फलाम काट्छ
माछाले माछा नै खान्छ
त्यसै गरी , ठीक त्यसै गरी
कविताको धज्जी उडाउँछ कविता
कवितालाई अकविता घोषणा गर्छ कविता !

व्यवस्थापन गर्न नसकेको
यौनको उत्तेजना
या कुनै नारीको देहभोगको तिर्खा
जव कसैले कवितामा भन्छ
या जव कविताको प्रदेशमा ती जन्मन्छन्
कवितामाथि महा अभियोग लाग्छ !

रगतको असीम तिर्खा लागेको शासक
त्यस शासकका पुच्छरका जुम्रा
स्त्री लम्पट अफिसर
भ्रष्ट हाकिम
र धर्मभीरु मठाधिश
जव कविता लेख्न थाल्छन्
जव तिनकै कवितारे
पुरस्कार प्राप्त गर्छन्
कविता शङ्कटकालमा पर्छ !

यो समाजकै असभ्य मान्छेहरू
जल्हादहरू , मानवद्वेशीहरू
नाफाखोरहरू, कायरहरू
सत्ताका जासुसहरू,तस्करहरू
व्यभिचारीहरू, अनैतिकहरू
जव नामुद कवि बनेर निस्कन्छन्
जव बजारले अभिनन्दन गर्छ
प्रज्ञा प्रतिष्ठानले रथ यात्रा निकाल्छ
सैनिकले जर्नेलको फूली दिन्छ
जव आशा गरिएका कविहरू पनि
एका विहानै पुग्छन उसकोमा
ऊसँग आशिर्वाद थाप्छन
सेल्फी खिच्चन् र प्रकाशन गर्छन्
त्यसपछि लाग्छ-
कविता माथि सवै भन्दा घातक प्रहार
केवल कविहरू नै गरिरहेछन् !

सत्यको रापसँग डराएर
जव ढाँटको गल्लीमा भेटिन्छन् कविहरू
ढाँट गल्लीको रक्सी भट्टीमा बसेर
जव कविहरू गफ झिक्छन्-
‘कुन तरुनीका छात्ती कत्रा’
कसले कति तरुनी सुतायो
ककस्का साझा गलफ्रेण्ड छन्
कसले कसकी स्वास्नी ताकेको छ
र अर्को शनीवार
कुन तरुनी लिएर घुम्न जाने हो
जव तिनै कविहरू छाउँछन
अखवारका पानाहरूमा
कविता प्रतियोगिताको न्यायधीशमा
पुरस्कार पाउँनेको सूचीमा
कविता कार्यक्रमको अतिथी दिर्घामा
त्यसपछि लाग्छ-
कविताका विरुध्द युध्दको घोषणा भएको छ !

यस्तो पर्यावरणमा पनि
कोही कवितालाई मायाँ गरिरहेको छ भने
उसले बुझोस-
ऊ युध्दको मैदानमा छ !

कविताको मैदानमा पनि हुन्छन्
दुई थरि सेना
भोकको कविता लेख्ने
न्याय र समानताको कविता लेख्ने
भोलिको सुन्दर सपनाको कविता लेख्ने
सत्यलाई प्रेम गर्ने कविता लेख्ने
यी कविहरू एकतिर
यौनको विज्ञापन गर्ने
सत्ताको भजन गाउँने
‘जे छ ठीक छ’लाई समर्थन गर्ने
ती कविहरू अर्कोतिर हुन्छन् !

आउनोस कवि साथीहरू
तपाई यो मैदानमा कतातिर
एउटा लामो लडाइँ त लड्नु नै छ आखिर !

प्रतिक्रियाहरु