करको भार तत्काल हटाउन माग

२०७५ श्रावण ३१ गते, बिहीबार

काठमाडौं, ३१ साउन । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले करको भार हटाउन जोडदार माग गरेका छन । उनले आज एक वक्तव्य जारी गर्दै सरकारले देशव्यापी रुपमा अत्यधिक रुपमा करको भार बढाएकोले तत्काल हटाउन जोडदार माग गरेका हुन् । वैद्यले जारी गरेको वक्तव्यमा उत्पीडित वर्ग र जनतामाथि अह्य तथा धान्नै नसकिने गरी लगाइएको राजस्व तथा करभार हटाउन र संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन, महंगी नियन्त्रण गर्न, बेरोजगारीहरुलाई रोजगारी र बेरोजगार भत्ता दिन, महिलाहरुमाथि हुँदै आएका हत्या, हिंसा तथा बलात्कारका जघन्य अपराध रोक्न तथा दोषीहरुकाथि कडा सजाय दिन, मजदुरहरुको बेतन वृद्धि तथा उनीहरुका मागलाई सम्बोधन गर्न सरकारसित विशेष माग गरिएको छ । साथै वक्तव्यमा उक्त विषयहरुलाई लिई आन्दोलन संगठित गर्नका लागि हाम्रो पार्टी देशभक्त, जनवादी तथा वामपन्थीहरुसित विशेष अनुरोध गरिएको छ ।
यस बिषयमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यद्वारा वक्तव्यको पूर्णपाठ यस्तो छ – “अहिले देशव्यापी रुपमा विपन्न, गरिब र कम आय भएका जनतामाथि राजस्व तथा करको भार अत्यन्तै तीव्र र गुणात्मक रुपमा बढाइएको छ । स्थानीय तहद्वारा जन्म, विवाह, मृत्यु, नागरिकता, घरजग्गा, कृषि पुशुपालन लगायतका विषयमा धान्नै नसकिने गरी कर लगाउने र बढाउने काम भएको छ । सरकारद्वारा एकातिर सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउने, अनि समृद्ध तथा सुखी नेपाली बनाउने नारा लगाइएको छ भने अर्कोतिर जनतालाई दिइनु पर्ने आवश्यक सेवा सुविधाबाट पनि बञ्चित गरिएको छ । राजस्व तथा कर उठाउनेबारे संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारलाई प्रष्ट पार्ने र त्यस सम्बन्धी आवश्यक ऐन, कानुन तथा नियमावली निर्माण गर्ने काममा खासै ध्यान दिइएको छैन । त्यतिमात्र होइन देशमा महंगी दिनप्रतिदिन बढ्दै गएको छ, बरोजगारीको समस्या अत्यन्तै विकराल र भयावह बन्दै गएका छन्, महिलाहरुको हत्या हिंसा र बलात्कारका घटना अत्यन्तै तीव्र रुपमा बढिरहेका छन् । मजदुरहरुको बेतन मागलाई अत्यन्तै न्यून बनाइएको छ र उनीहरुलाई आवश्यक सुविधाबाट पनि बञ्चित गरिएको छ । आफूलाई वाम बताउने सरकार यस प्रकारका समस्याहरुलाई गम्भीरतापूर्वक लिई समाधानतर्फ होइन बल्झाउने तर्फ उद्दत भइरहेको छ । हाम्रो पार्टी सरकारका यसप्रकारका जनविरोधी क्रियाकलापको दृढ विरोध गर्दछ ।
अन्त्यमा हाम्रो पार्टी उत्पीडित वर्ग र जनतामाथि अह्य तथा धान्नै नसकिने गरी लगाइएको राजस्व तथा करभार हटाउन र संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन, महंगी नियन्त्रण गर्न, बेरोजगारीहरुलाई रोजगारी र बेरोजगार भत्ता दिन, महिलाहरुमाथि हुँदै आएका हत्या, हिंसा तथा बलात्कारका जघन्य अपराध रोक्न तथा दोषीहरुकाथि कडा सजाय दिन, मजदुरहरुको बेतन वृद्धि तथा उनीहरुका मागलाई सम्बोधन गर्न सरकारसित विशेष माग गर्दछ । साथै, उक्त विषयहरुलाई लिई आन्दोलन संगठित गर्नका लागि हाम्रो पार्टी देशभक्त, जनवादी तथा वामपन्थीहरुसित विशेष अनुरोध गर्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु