कम्युनिस्ट युवाहरु बारे – प्रकाश शाही

२०७७ असार ३० गते, मंगलवार


‘युवाहरू हो यो संसार तिमीहरूको हो हाम्रो पनि हो तर उदाइरहेका सूर्य तिमीहरू हौ, अस्थाइरहेका सूर्य हामीहरू हौं, त्यसैले मुख्यरूपले यो संसार तिमीहरुकै हो ।’ – माओ

महान् गुरू कमरेड माओ जे दोगं भने जस्तै बुद्धि, विवेक, साहस र अभिलाषाको उत्कृष्ट संयोजन हो युवा उमेर, यसमा वर्गीय चेतना हुँदा संसारभरमा ठूला–ठूला राजनैतिक, सामाजिक, आर्थिक परिवर्तनहरू संभव भएका छन् । कुनै पनि देशको अवस्था कस्तो छ वा कता जाँदैछ भन्ने कुरा त्यस देशका युवाहरू कति सचेत छन् वा उनीहरूको राज्य संचालनमा भूमिका कस्तो छ भन्ने विषयले धेरै हदसम्म निर्धारण गर्दछ, झन् हाम्रो जस्तो विकासशील देशका युवाहरू यहाँको आन्तरिक राजनीतिका कारण शिक्षा, स्वास्थ्य, रोजगारीबाट बन्चित रहनु परेको हुन्छ, जसका कारण देशमा युवा शक्ति राजनैतिक, आर्थिक र सामाजिक अधिकारबाट अलग्गिएको हुन्छ, जसले गर्दा देशको समग्र विकास र दिगो शान्ति हुन सकिरहेको छैन, आज पनि देशमा राजनैतिक अस्थिरता, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कालाबजारी र अनियमितता हाम्रो दैनिकी जस्तै बनिरहेको छ, यो हाम्रो विडम्बना हो, हाम्रो समाज यति विघ्न विकृत र अराजक हुनुका पछाडि राजनैतिक पार्टीमा युवाहरूको प्रभावकारी भूमिका नहुनु, रूढीग्रस्त राजनीतिक पार्टी र तिनीहरूले राज्य संचालनमा अँगालेको गलत नीति (प्रणाली) का कारणले हो, ‘राजनीति सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ’ भन्ने कमरेड माओको विषय यहाँ सान्दर्भिक देखिन्छ । समाजमा वर्ग छ वर्ग संगै वर्गहरूको संघर्ष पनि अनिवार्य छ हाम्रोमा पनि शोषक र शोषित वर्ग छन् देशमा भएका सबै राजनैतिक परिवर्तनले यो वर्गीय भेद मेटाउन नसक्नु हाम्रो लागि दुखद् पाटो रह्यो, जसका कारणले समाजमा विद्रोह र क्रान्तिहरू जन्मी रहे नेपालमा कम्युनिस्ट पार्टी निर्माण पनि त्यति बेलाको राजनैतिक अन्तरविरोेधको परिणाम हो, पार्टी निर्माणदेखि यहाँसम्मको सात दसक लामो यात्राको समीक्षा गर्दा नेपालमा कम्युनिस्ट पार्टीले राजनैतिक, सामाजिक, आर्थिक परिवर्तनको क्षेत्रमा योगदान त ग¥यो तर पार्टी स्थापनाको मूल लक्ष्य हासिल गर्न सकेन अर्थात् आफ्नो व्यवस्था (वैज्ञानिक समाजवाद) स्थापना भएन करिब ६५ प्रतिशत कम्युनिस्ट जनता हुनु, युवा शक्ति बरोजगार हुनु, समाज अर्धसामन्ती अर्ध औपनिवेशिक र खेती किसानीमा आधारित अर्थतन्त्र भएर पनि व्यवस्था स्थापना गर्न नसक्नु, बरू पार्टीहरू नै गुट उपगुट र टुक्रा–टुक्रामा विभाजन हुनु । यो कम्युनिस्ट आन्दोनको विडम्बना र कमजोर पक्ष हो, यसमा हामी युवा क्रान्तिकारी कम्युनिस्टहरूले गम्भिर भएर खोज अनुसन्धान गरी पार्टी र आन्दोलनलाई निर्णायक बनाउनु युवा कम्युनिस्टहरूको अहिलेको कार्यभार हो, त्यसैले आउनुहोस् हामी युवा कम्युनिस्टहरूले आपूmमा विकाश गर्नु पर्ने केही आधारभूत बिषयहरूमा बुदागत रूपमा छलफल गरौँ ।
१. विचार दृष्टिकोण ः राजनीतिमा विचार दृष्टिकोणको प्रश्न मुख्य रहन्छ । तर नेपाली युवा कम्युनिस्टहरूमा विचारको कुरो गौण छ या भनौं हामी युवाहरू विचार दृष्टिकोण भनेको मुख्य नेताहरूको कुरा हो । यो अहिले सिक्ने विषय होइन भन्ने बुझाई आमयुवाहरूमा पाइन्छ र नेताहरूले पनि युवाहरूलाई योजनावद्ध दृष्टिकोण निर्माणामा सहयोग गरेको पाइदैन भए ठिकै छ नत्र वास्ता नगर्ने रोग पुरानै हो, जसका कारणले पनि हाम्रो आन्दोलनमा बुझाई र व्यवहारको ठूलो समस्या रहेको छ । कारण आन्दोलन वा आन्दोलनले स्थापित गरेको उपलब्धिलाई एकरूपतामा लागू गर्ने विषयमा सधै समस्या रहँदै आएको छ । त्यसैले युवा कम्युनिस्टहरू मालेमावादी विचार दृष्टिकोणले लैस हुन अत्यन्त आवश्यक छ, जसका लागि युवाहरूको स्वअध्ययन र पार्टी योजनामा विचार निर्माणको लागि स्कुलिङहरू संचालन गर्ने गराउने गर्नु पर्दछ, जसले मालेमावादी विचार दृष्टिकोण सहितको युवा तयार गर्दछ । भावी क्रान्तिलाई थेग्ने र अगाडि बढाउन मद्दत गर्दछ । त्यसैले तन्नेरीहरूले मालेमावादी विचार दृष्टिकोण निर्माणमा विशेष ध्यान दिन अति आवश्यक भएको छ ।
२ अनुसाशन ः कम्युनिस्ट पार्टीमा अनुशासनलाई राजनीतिको मेरूदन्ड मानिन्छ । तर, नेपालका कम्युनिस्ट र त्यसका नेताहरूले आफ्ना गुटगत स्वार्थका कारण पार्टीमा वर्ग, वर्गीय पक्षधरता र अनुशासनलाई मजाक बनाएका छन्, जसको परिणाम हो पार्टी भित्र विचार दृष्टिकोणमा विचलन, अनियमितता र शक्तिको दुरूपयोग बढी रहेका छ । यी र यस्ता कुराहरूले नेपालमा कम्युनिस्ट बद्नाम मात्र भएका छैनन् कि बरू आमजनसमुदायहरूबाट स्खलित हुने र पार्टीप्रतिको विश्वास पनि गुम्दै गइरहेको छ, जुन कम्युनिस्ट पार्टी र आन्दोलन लागि खतराको संकेत पनि हो, त्यसैले कम्युनिस्ट पार्टीमा आफ्नो र वर्गीय मुक्ति र नयाँ भविष्यको खोजीमा रहेका युवाहरूले विगतका कमीकमजोरीहरूको गम्भीरतापूर्वक समिक्षा र पार्टी भित्रको अनुशासन र वर्गीय पक्षधरताको पाटोलाई मजबुद पार्नु युवाहरूको ऐतिहासिक दायित्व भएको छ र सबै युवाहरूले यो पाटोमा विशेष ध्यान दिन जरूरी छ ।
३ साहस र धैर्यता ः कम्युनिस्ट आन्दोलन मुख्य रूपमा वर्गीय आन्दोलन हो यो आन्दोलन सधैं सिधा र सरल माध्यमबाट अगाडि नजान पनि सक्छ, आन्दोलनले हजारौं हन्डर, ठक्कर असफलता र क्षति बेहोर्न पनि सक्छ । यस्ता परिस्थितिहरूमा नेताहरूले बढी आशा र भरोसा युवाहरूबाट राखेका हुन्छन् । त्यसैले युवाहरूमा ठूलो आत्मविश्वास दृढइच्छा शक्ति भएको, जोखिम मोल्न सक्ने र गतिशील चरित्र भएको हुनुपर्दछ । आन्दोलन र क्रान्तिका कार्यभार थेग्न सक्ने र जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने असिम धैर्यवान् युवाहरू नै आजको क्रान्तिकारी पार्टीमा आवश्यक छन् । यी दायित्व पूरा गर्न हामी युवाहरू तयार रहनु पर्दछ ।
४. सिर्जनशीलता ः नयाँको निर्माण र पुरानोको ध्वंस संसारको नियम हो । तर, नयाँ निर्माणमा बैज्ञानिकता भएन भने निर्माण दिगो रहँदैन कम्युनिस्टहरू अग्रगामी र प्रगतिशील हुन्छन्, साम्यवादमा विश्वास गर्दछन् । तर, यो बिषय पछिल्लो समयमा कम्युनिस्टहरूमा पाइन छाडेको छ, निजी स्वार्थका लोभि, यथास्थितिवाद, क्षेत्रीयतावाद, नश्लवाद र जड्सूत्री आजको कम्युनिस्टहरू र पार्टीहरूको विशेषता जस्तै भएको छ । यो गलत प्रबृत्तिका विरूद्ध युवा कम्युनिस्टहरूले संघर्ष गर्न जरूरी छ । मालेमावादलाई आजको विश्व परिवेशअनुसार आफ्नो मौलिकतामा सृजनात्मकढंगले प्रयोग, संरक्षण, विकास र विस्तार गर्नु सबै कम्युनिस्टहरू र विशेष रूपले युवा नेतृत्वका कमरेडहरूको दायित्व हो, त्यसैले अबको बैज्ञानिक समाजवादको प्रयोग र भविष्य युवाहरूको मौलिकता र सिर्जनशीलतासहितको कार्यदिशाले निर्भर गर्ने छ, जसका खातिर हाम्रो पुस्ताले अथाह मेहनत गर्नु अनिवार्य भएको छ ।
५. आलोचनात्मक चेत ः कम्युनिस्टहरूलाई जनवादी केन्द्रीयताको नाममा पार्टी र नेतृत्वलाई देवत्वकरण गरेको र अन्धभक्त हुने गरेको आरोप पनि लाग्ने गर्दछ । यो बिषय केही हदसम्म वास्तविकताको नजिक जस्तो पनि देखिन्छ । पार्टी आवश्यकताको नाममा नेतृत्वले जे पनि गर्ने वा कार्यकर्ताहरूलाई आपूm अनुकुल प्रयोग गर्ने संस्कार भयावह रूपमा झाङ्गिएको देखिन्छ, जसको पछिल्लो तमाशा सरकारी नेकपा देखिएको छ । यसले युवाहरूको नेतृत्व विकास र नयाँ कुराको आविष्कार हुने विषयमा समस्या ल्याउने देखिन्छ, त्यसैले पनि युवाहरूले सही गलत र आवश्यकतालाई छुट्याउन सक्ने आफ्नो वर्गको स्वार्थलाई बुझ्न सक्ने, मित्रतापूर्ण आलोचना गर्ने र रूपान्तरणको लागि मद्दत गर्ने संस्कार आपूmमा युवा कम्युनिस्टहरूले विकास गर्न जरूरी देखिन्छ ।
६ इमानदारिता ः कम्युनिस्टहरूको सबभन्दा ठूलो गहना भनेको वर्गीय इमानदारिता हो, हामी युवाहरू निडर, इमानदार, मिलनसार र गोपनीयता राख्न सक्ने हुनुपर्दछ । यसै सन्दर्भमा महान् गुरू कमरेड माओले पार्टी कार्यकर्ताहरूको विषयमा भन्नु भएको छ, ‘खुला र स्पष्ट होऊ ‘हेर्दा सामान्य लाग्ने यो बाक्यले विराट अर्थ बोकेको छ । नैतिकपतन भएको संसोधनवादतर्फ फसेको संशोधनवादी कम्युनिस्टहरू नेपालमा बेग्रल्ती देखिन्छन् । यो प्रतिकूल समयमा युवा कम्युनिस्टहरूले आपूmलाई इमानदार र पारदर्शी मालेमावादको दर्शनलाई पक्रन सक्ने बनाइराख्नु पर्दछ । खुला, स्पष्ट र वर्गको विषयलाई दृढतापूर्वक राख्ने वर्गीय अडान भएको युवाहरू नयाँ संस्कारसहित बैज्ञानिक सामाजवादलाई लागू गर्न सक्ने गरी आपूmलाई विकास गर्न सक्नु आजको युवाहरू दायित्व हो ।
७. गोपनीयताको रक्षा ः कम्युनिस्ट पार्टीमा आफ्नो वर्गको नेतृत्व र योजनाको रक्षाको सवाल सबैभन्दा महत्वपूर्ण मानिन्छ । तर, हिजोआज यो पाटो पार्टीमा कमजोर देखिन्छ । यसो हुनुमा पार्टी स्कुलिङ र नेतृत्वको लापरवाही बढी जिम्मेवार छ । त्यसैले युवा कमरेडहरूले पार्टी योजनाको रक्षा र गोपनीयतामा सबैभन्दा ध्यान दिनु पर्दछ । आफ्ना दैनिकका भेटघाट योजना निर्माण र पार्टीका कामलाई पार्टी योजना र कार्यतालिकामा लागू गर्नु गराउनु र आफ्ना गतिविधि विरोधीहरूकोमा पुग्न नदिनु र उनीहरूका गतिविधिमा योजनावद्ध निगरानी राख्नु र सोको जानकारी पार्टी नेतृत्वमा समयमा नै पु¥याउनु हामीहरूको कर्तव्य हो ।
८. वर्गीय पक्षधरता ः वर्गीय पक्षधरता कम्युनिस्टहरूको मुख्य सवाल हो । हिजोआज जनताको पार्टी बनाउने नाममा कम्युनिस्टहरूले आफ्नो वर्गलाई भुलेर संशोधनवाद र अभिजात्य वर्गको सेवा र स्वार्थमा काम गरेको प्रशस्त देख्न सकिन्छ । हाम्रोमा पनि केपी नेतृत्वको दलाल सरकार त्यही भाषामा फसेको छ । त्यस पार्टी सम्वद्ध युवाहरू त्यस खराब प्रबृत्तिको अनुयायी बनिरहेका छन् । दुनियाँमा कहीँ सबैको पार्टी भन्ने हुँदैन । पार्टी भनेको निश्चित वर्गको हुन्छ जसले वर्गीय स्वार्थका लागि काम गरिरहेका हुन्छन् । तर, कम्युनिस्टहरू आवश्यकताभन्दा उदार र सबै (बुर्जुवाहरू) लाई समेट्ने सवालमा चुक्दा सधै मेहनतवश श्रमजीवि जनताको सत्ता स्थापना र संचालनमा समस्या झेल्नु परिरहेको छ । यो विषयमा युवा कम्युनिस्टहरू सचेत रही आफ्नो वर्गको सत्ता स्थापना र वर्गीय पक्षधरतासहित गम्भीर भएर काम गर्नु आवश्यक भएको छ, जुन हामी युवाहरूले बुझ्न जरूरी छ ।
अन्त्यमा सात दशक लामो कम्युनिस्ट आन्दोलन निष्कर्षमा पु¥याउने र बैज्ञानिक समाजवाद स्थापना र विस्तार गर्ने महान् कार्यभार हामी युवा कम्युनिस्ट क्रान्तिकारीहरूको गम्भीर दायित्व हुन आएको छ । माथिका विशेषताहरूलाई पार्टी जीवनमा लागू गर्ने र युवाहरूले पार्टीको योजना र कार्यक्रम निःसर्त लागू गर्ने र विगतको कमीकमजोरीहरूको नयाँ समीक्षासहित नयाँ समाज, नयाँ संस्कार र नयाँ व्यवस्थाको लागि पहल गर्ने कुरामा अब ढिलाई गर्नु भनेको हिजोकै विरासत र जडताको निरन्तरता सिवाय केही हुँदैन । त्यसैले देशका सबै कम्युनिस्ट पार्टी भित्रका युवा क्रान्तिकारीहरूले एकीकृत भई इतिहासको महान् कार्यभार र वर्तमानको भ्रष्ट दलाल संसदीय व्यवस्थाको एक मात्र विकल्प बैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा लाग्नु अनिवार्य र निःसर्त दायित्व हुन आएको छ, चाहे बलिदानीको मूल्य चुकाउनु किन नपरोस् अब पनि अलमल र ढिलाढाला गर्ने छुट हामी युवा नेतृत्व तहका क्रान्तिकारीहरूलाई छैन, त्यसकारण मालेमावादको विचार दृष्टिकोणसहित क्रान्तिकारीहरूको एकीकृत कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत् बैज्ञानिक समाजवादको दिशामा सम्पूर्ण युवा क्रान्तिकारीहरू अघि बढाऔं जीत संभव छ ।
(लेखक : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) का महासचिव हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु