कम्युनिष्ट नामका कलंक : आफ्नै इतिहासमाथि गद्दारी गर्दै छन् -विष्णु पन्त

२०७६ भाद्र २ गते, सोमबार

कम्युनिष्ट पार्टीको नाममा राजनीति दलाल संसदीय व्यबस्थाको रक्षा
नेपालमा अनौठो दृश्य के छ भने केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने सत्तारुढ पार्टी छ र त्यो पार्टीले संसदमा करिब दुई तिहाई बहुमत प्राप्त गरेको छ । अनौठो सत्य के छ भने आजको दलाल संसदीय व्यवस्था यसकारण टीकेको छ कि उक्त दल नै संसदवादको मुख्य ठेकेदार र संरक्षक बनेर उभिएको छ । बरु पुँजीवादी संसदवादी पार्टीहरु परीवर्तनका लागि सहमत देखिए तर तत्कालिन एमाले र माओवादी केन्द्र पुरानै संसदीय व्यवस्थाको पुनरावृत्तिका लागि रक्षाकवच बनेर निस्किएको छ । सबैको विश्लेषण छ कि, संसदीय व्यवस्थाको पुनरावृत्ति गर्ने गरी सत्ता चलाउने करार सम्झौता गरेका कारण सरकारमा पुगेका हुन् ।
यसलाई क्रान्तिकारी शक्तिहरुले परिवर्तनप्रतिको धोका, गद्दारी र आत्मसमर्पणका रुपमा व्याख्या गरेका छन् । कतिपय विश्लेककहरु भन्छन् कि, यदि यो सम्झौता वा आत्मसमर्पणबाट दायाँ–बायाँ गरे उनीहरु मारिन्छन् । हुन पनि एउटा संसदमा दुई तिहाई बहुमत प्राप्त दलले संसदवादको रक्षाका लागि बलि चढ्नसमेत तयार हुने अवस्था बन्दै छ । देशमा परिवर्तनकारी शक्ति र जनताप्रति भीषण दमन, आक्रमण र फासीवाद लाद्ने अभियान चाल्दै छ ।
दशवर्षे जनयुद्धको इतिहासमाथि टेकेर प्रतिक्रान्ति
दशवर्षे जनयुद्धको इतिहासमाथि टेकेर नै प्रचण्ड र बाबुरामले प्रतिक्रान्तिको नेतृत्व गरे । राजतन्त्रको अन्त्य वा गणतन्त्रको नाममा मुलुकलाई पुरानै संसदीय व्यवस्थामा फर्काउने जस्तो घृणित काम प्रचण्ड र बाबुरामले गरे । दशौं हजार शहिद, वेपत्ता, घाइते तथा वेपत्ता योद्धाहरुको बलिदानमाथि दलाल संसदीय व्यवस्था लाद्ने र सरकारमा जाने सम्झौता गर्नका लागि पुँजीकृत गरी गद्दारी गर्ने काम भयो । जनयुद्धका नब्बे प्रतिशत इमानदार योद्धाहरुको जीवनमाथि खेलवाड गरेर आज उनीहरु दलाल, नवधनाड्य वर्गका परिणत भएका छन् । सबैलाई थाहा छ, आजको व्यवस्था दलाल संसदीय व्यवस्था हो । आज क्रान्ति होइन प्रतिक्रान्ति भएको छ र अग्रगमन होइन प्रतिगमन भएको छ । आज एउटा राजाको ठाउँमा सयौं राजाहरु जन्मिएका छन् र फेरि पनि वंशज, नाता, गुट र सामन्तवादी सत्ता नै हावी भएको छ । आज जनताका अधिकार झन् बढी कटौती गरीएका छन् । सत्ताको चरित्र हिजोभन्दा पनि बढी जनविरोधी र फासीवादी बनेको छ ।
क्रान्ति र समाजवादको नाममा एमालेमा विलय
समाजवादको नारा दिंदै प्रचण्डहरु पार्टीलाई नै एमालेमा विलय गराए । प्रचण्ड एमालेको सहअध्यक्ष बनेर फेरि पनि प्रधानमन्त्री बन्ने षड्यन्त्रमा व्यस्त छन् । अर्का नेता बाबुराम भट्टराई संघीय समाजवादी पार्टी वा फोरम नेपालको सहअध्यक्ष बनी रहेका छन् । जनताहरुको प्रश्न छ, के यो आत्मसम्मानको बाटो थियो ? के यो स्वाभिमानको बाटो थियो ? हिजो प्रचण्ड र बाबुरामहरुले लेखेका क्रान्तिकारी दस्तावेजहरुप्रति माफी माग्नु पर्दैन ? लाखौं योद्धा, कार्यकर्ता र शुभचिन्तकहरुको विश्वासमाथि घात गरेकाले अपराध गर्नु पर्छ कि पर्दैन ? आज समाजवादको नाममा समाजवादी क्रान्तिलाई निषेध गर्ने षड्यन्त्र हुँदै छ । कम्युनिष्टको नाममा वास्तविक कम्युनिष्ट पार्टीमाथि आक्रमण गर्ने प्रतिबन्ध लगाउने र आए नरसंहार गर्ने जस्ता फासीवादी कदमहरु लादिँदै छ । आज कम्युनिष्टको नाममा कलंक लगाएर आफ्नै इतिहासमाथि गद्दारी गर्दै छन् ।
सुरुङ युद्धलाई देखाएर भारतीय शासकस“ग आत्मसमर्पण
नेपालमा भारतीय हस्तक्षेपको विरोध गर्दै हिन्दी सिनेमालाई नेपालभित्र चल्न नदिने संघर्षको नेतृत्व कसले गरेको थियो ? भारतीय गाडीहरुको दादागिरिलाई रोक्न भारतीय नम्बर प्लेटका गाडी नेपालभित्र चल्न नदिने आन्दोलनको घोषणा कसले गरेको थियो ? भारतीय हस्तक्षेपकाविरुद्ध सुरुङ्ग युद्धको घोषणा कसको नेतृत्वमा भएको थियो ? सुरुङ्ग युद्धका लागि जनता र कार्यकर्तालाई होमेर भारतीय शासकहरुसँग आत्मसमर्पण गर्नु अपराध होइन र ? अतः आज आमजनताले प्रश्न गरिरहेका छन् कि कहाँ गयो हाम्रो राष्ट्रिय स्वाधीनताको प्रश्न ? कहाँ गयो भारतीय विस्तावादविरुद्धको बहस ? के हिजो गरिएका संघर्षहरु केवल सरकारमा पुग्नका दाउपेच मात्र थिए त ? इतिहासले यी प्रश्नहरुको उत्तर मागेको छ । राजनीतिमा इमानदारिता हुनुपर्छ र प्रत्येक नेता आफ्नो इतिहास र वर्तमानबीचको संगतिबाट जाँचिन्छ । इतिहासमा गल्ती भएको भए सार्वजनिक रुपमा माफी माग्नु पर्छ । अन्यथा त्यो विश्वासघात, गद्दारी र पलायन हुन्छ । त्यसकारण प्रचण्ड र बाबुरामले यी प्रश्नहरुको जवाफ दिनुपर्छ ।
कम्युनिष्टको नाममा नवधनाड्य वर्ग
हिजोका हाम्रो सर्वहारा वर्गका नेता आज अरबौं भ्रष्टाचारमा मुछिएका छन् । कम्युनिष्टहरु आज करोडपति र अरबपतिमा परिणत भएका छन् । आज देशका सबैभन्दा धनी वर्गका रुपमा नेताहरु उभिएका छन् । कमिशनतन्त्रलाई अस्तित्वको मुख्य आदर्श बनाइएका छन् । कालो धनलाई थुपारेर त्यसलाई सेतो कसरी बनाउने ध्याउन्नमा छन् नेताहरु । आज थोरै पनि दायाँबायाँ गरे वा प्रभुको इच्छा विपरीत गए उनीहरु मारिने अवस्थामा बलीको बोको बनेर उभिएका छन् । आज जनताले धिक्कार गरिरहेका छन् । आखिर किन चाहिन्थ्यो अरबौं कमिशन ? त्यो कालो धन थुपारेर किन नारकीय जीवन रोजेका ? आज भ्रष्ट दलाल, तस्कर, कालोबजारीया, माफिया र लुटेराहरु मात्र जम्मा गरेर के गर्न खोजेको होलान् ?
बलीको बोको बनेका छन् केपि र प्रचण्डहरु
हामीलाई थाहा छ, नेपालमा धेरै पटक विदेशी एजेन्टहरुको पनि हत्या भएका छन् र राष्ट्रवादी स्वाभिमानहरुको पनि हत्या भएको छ । जो राजनीतिलाई विदेशी शक्तिहरुसँगको करारनामाको आधारमा चलाउन खोजे, तिनीहरुको पनि हत्या भएको छ । जब रस आउन छाड्छ वा जब प्रयोग निष्प्रभावी बन्छ, तब विभिन्न षड्यन्त्रपूर्ण हत्या हुने इतिहास साक्षी छ । मान्छेहरु भन्छन्, सुशील कोइरालाको हत्या भएको हो । कोही भन्छन् प्रचण्ड पुत्र प्रकाशको पनि हत्या भएको हो ।
राष्ट्रवादी कदम चालेवापत राजा विरेन्द्रको वंशनाश हामीले भोगेकै इतिहास हो । मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको इतिहास ताजै छ । आज केपि ओली र पुष्पकमल दाहाल विदेशीहरुसँगको रहस्यमय सम्झौता र रिमोटको आधारमा चलेका छन् । हुनसक्छ, दुईमध्ये एकको रहस्यमय अन्त्य गरिन सक्छ ।
वास्तवम खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ओलीको बोके बनाइएका छन् । उनीहरु सम्झौताबाट थोरै पनि तलमाथि गरे मारिनुको विकल्प छैन । तसर्थ, दुई तिहाई बहुमत भए पनि वर्तमान सरकारले कुनै साहसिक र स्वतन्त्र निर्णय गर्न सक्दैन । यतिसम्म कि एउटा इन्स्पेक्टरको बढुवा गर्दासमेत दूतावासबाट अनुमोदन हुनुपर्छ । बजेट पुस्तिक पहिले दूतावासबाट अनुमोदन भएपछि बल्ल प्रधानमन्त्रीको टेबुलमा पुग्छ ।
समाजवादको नाममा दलाल पु“जीवाद ः पुँजीवादको पनि सबैभन्दा विकृतरुप दलाल पुँजीवाद हो । दलाल पुँजीवादको विकासबाटै पुँजीवादको अन्त्य हुने एकथरि विश्लेषकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । नेपालमा दलाल पुँजीवादको पनि चरम् समिा नाघेको छ । आज दलाल बन्न नचाहनेहरु बाँच्नै नसक्ने अवस्था पुग्दैछन् दलाल पुँजीवादले अन्तत्वगत्वा श्रमलाई निषेध गर्छ र कालो धनलाई मुख्य निशाना बनाउँछ । रातारात धनी बन्ने सपना देखाउँछ । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका मुख्य नेताहरुको अर्बौं रकम विदेशी बैंक खातामा रहेको समाचारहरु आइरहेका छन् । अर्बौं अरबका भ्रष्टाचार वा कमिशनमा प्रधानमन्त्री ओली र दाहालको नाम जोडिएका छन् । मन्त्रीले सिधै प्रधानमन्त्री र अध्यक्षलाई कमिशन बुझाउने खबरहरु आइरहेका छन् । सत्तामा पार्टीमा जसरी हुन्छ, कमाउ भन्ने संस्कृतिको विकास भएको छ । एउटा कम्युनिस्ट पार्टीले आपूm सत्तामा भएको बेलामा आमकार्यकर्ता र जनतालाई कस्तो सन्देश दिन सक्नुपर्दथ्यो ? तर, उल्टो सन्देश सम्प्रेषण भएको छ– जसरी हुन्छ, कमाउ, खाउ, लुट आदि । समाजवादको नाममा लुटतन्त्र, समृद्धिको नाममा दलालतन्त्र, सुशासनको नाममा भ्रष्टतन्त्र यो सरकारका विशेषता बनेका छन् । त्यसकारण देशलाई जोगाउने हो भने दलाल पुँजीवादको अन्त्यको विकल्प छैन ।
निष्कर्ष
देशमा गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्था लादिएको छ । आज सत्तामा दलालहरु मात्र पुग्ने संरचना बनाइएको छ । प्रधानमन्त्री बन्नका लागि विदेशीहरुलाई प्रस्तावहरु पेस गर्नुपर्ने अवस्था बनाइएको छ । जनताहरु झन् पछि झन् कङ्गाल बन्ने र सीमित मुठ्ठीभर मान्छेहरु रातारात अर्बपति र खरबपति बन्ने अराजक व्यवस्था हावी भएको छ । सर्वत्र कालोधनवालाहरुको हालिमुहाली बढेको छ र सत्ता पूरै भ्रष्ट, दलाल, कालोबजारिया, तस्कर, माफिया र अपराधीहरुको बनेको छ । यो परिपाटी अबका केही वर्ष मात्र कायम रहिरहेमा मुलुककै विघटन हुने खतरा छ । आज एउटा इन्स्पेक्टरको बढुवा वा सरुवासमेत दूतावासबाट अनुमोदन गराउनुपर्ने विषम अवस्था छ भने अरुको के कुरा गर्ने ? बजेट पुस्तिका दूतावासबाट अनुमोदन भएपछि मात्र प्रधानमन्त्रीले हेर्न पाउने अवस्था छ । अतः नेपालकै स्वतन्त्र अस्तित्वको प्रश्नलाई प्रधानमन्त्रीको पदका लागि बार्गेनिङको विषय वा लेनदेनको विषय बनाइँदैछ । यस्तो राष्ट्रघाती दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि सबै देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरु ध्रुवीकरणमा जानु अनिवार्य बनेको छ ।

प्रतिक्रियाहरु