कम्प्युटर चलाउन नजान्ने कर्मचारी केन्द्रमै फिर्ता

२०७६ जेष्ठ ९ गते, बिहीबार

काठमाडौं, ९ जेठ । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेका हुन् ।
त्यस्तै, सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका तथा काठमाडौंका नागार्जुन र टोखा नगरपालिकाले एक–एक कर्मचारी फिर्ता पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
धुलिखेल नगरपालिका प्रमुखसमेत रहेका नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जूले दरबन्दीअनुसार नमिलेका र प्राविधिक ज्ञान नभएका कर्मचारी फिर्ता गरिएको बताए । ‘हामी कर्मचारी समायोजनको विषयमा सन्तुष्ट छैनौँ । नगरपालिकामा त कम्प्युटर जान्ने कर्मचारी चाहिन्छ । कम्प्युटर नै चलाउन नजान्ने कर्मचारी पठाएर हुन्छ रु नगरपालिकामा सातौँ तहको लेखापालको दरबन्दी नै छैन । दरबन्दी नै नभएको कर्मचारी पठाएर हुन्छ रु त्यसैले हामी छानीछानी राख्छौँ, अरू फिर्ता पठाउँछौँ,’ अध्यक्ष व्याञ्जूले भने ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने पर्याप्त कर्मचारी रहेका तथा प्राविधिक जनशक्ति आवश्यक भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएको बताए । ‘पर्याप्त कर्मचारी भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएका हुन् । केही स्थानीय तहलाई प्राविधिक कर्मचारी आवश्यक भएको, तर केन्द्रबाट प्रशासनिक कर्मचारी गएकाले पनि हाजिर नगराएका रहेछन्,’ सचिव कोइरालाले भने, ‘फिर्ता गरिएका कर्मचारीलाई कहीँ न कहीँ राखिन्छ ।’ त्यस्ता कर्मचारीको लगत मन्त्रालयले गत २२ वैशाखदेखि राख्न थालेको छ ।
११ हजार कर्मचारी पठाउने तयारी
मन्त्रालयले लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गरेर स्थानीय तहमा ११ हजार चार सय ९२ कर्मचारी पठाउने तयारी थालेको छ । यसका लागि आगामी बुधबारसम्म फारम खुलाउने आयोगको तयारी छ । सरकारले गत चैतमा स्थानीय तहमा स्वीकृत ६६ हजार नौ सय आठ दरबन्दीमध्ये ४३ हजार आठ सय सात दरबन्दीमा कर्मचारी पठाएको थियो । स्थानीय तहको जनसंख्या संरचनाअनुसार नौ तहमा विभाजन गरेर दरबन्दी तोकिएको थियो ।- शान्ति तामाङ, नयाँ पत्रिका दैनिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार