कमसल चेतना – बलराम तिमल्सिना

२०७५ कार्तिक १० गते, शनिबार

कमसल चेतनाका दुखै दुख छन !

कमसल चेतनाले-
साथी पनि कमसल रोज्छ
सत्रु पनि कमसल रोज्छ
आखिर
साथीले पनि सिकाउँने हो
सत्रुले पनि सिकाउँने हो
सिकाउँने नै कमसल रोजेपछि
उसले कमसल कुरा सिक्छ
ऊ दुखै दुखमा डुव्छ !

कमसल चेतनाले
तर्क पनि कमसल गर्छ
कमसल कुरामा खुसी हुन्छ
झगडा पनि कमसल कुरैमा गर्छ !

कमसलहरूले
युध्द पनि कमसल गर्छन
संझ्यौता पनि त्यस्तै गर्छन
आक्रमण पनि कमसल
र बचाउ पनि कमसल गर्छन
कमसल चेतना एक भयानक दुख हो !

कमसल चेतना
अव्वल चेतनासँग भागिहिड्छ
सँधै किनारमा उभिन्छ
नदीको मात्र होइन
युध्दको पनि किनारमा
र प्रेमको पनि किनारमै उभिन्छ
किनारामा उभिनु कमसलहरूको दुख हो !

कमसल चेतना वाला मान्छे
कमसल तरिकाले हाँस्छ
अर्थात दिल खोलेर हाँस्दैन
कमसल तरिकाले नै रुन्छ
पूरै दिल खोलेर रुदैन
उसको दिल नै कमसल हुन्छ !

कमसलहरूलाई
गाली गर्नेहरू पनि कमसल हुन्छन्
ताली पिट्ने त सवै कमसल नै हुन्छन्

चोरले चोरी गर्न चोर खोजेजस्तै
कमसलहरू
कमसल काम गर्न कमसल खोज्छन !

कमसलहरू
राजनीतिमा लागे भने
राजनीतिको विजोक पार्छन
तिनीहरूले दल खोले भने
दलदल बनाउँछन
साहित्यमा लागे भने ती
साहित्यकै हुर्मत लिन्छन !
कमसल चेतना
एक अधकल्चो परिस्थिति हो !

कमसलहरू
जीवन पनि कमसल वाँच्छन
मृत्यु पनि कमसल मर्छन् !

विचरा कमसलहरू
अरु त अरु भैगयो
प्रेमी या प्रेमिका पनि कमसल खोज्छन् !

कमसल चेतना
एउटा त्यस्तो दुख हो
प्राय कमसलहरूले
आफू कमसल भएको पनि थाहा पाउँदैनन् !

जस्तो – तपाईले यो कविता पढ्नु भयो
यो पनि एक कमसल कविता हुन सक्छ !

प्रतिक्रियाहरु