कमलाका परेलीहरू – वैरागी जेठा

२०७४ श्रावण ८ गते, आईतवार

आँखाले भ्याएसम्म
भिमानका जङ्गलहेर्छु
म उत्सुक छु
फुलमायाका फूलहरू हेर्न
एक मुठ्ठी बिदु फुकाउँदै
फैलिन्छ मन
बाज आँखाहरू
घलानका आँगनमाथि घुमिरहेका हुन्छन्
यत्रतत्र
भिमानको गर्मीले
मलाई खाइरहेको हुन्छ
दानवदूतहरू , घर प्रवेश गरेपछि
घरका पर्खालहरू भत्किँदै जान्छन्
कमलाका परेलीहरू
पोलिएर दौडीरहेका धूवाँहरू
जेलस्पीका गोलीझैँ गुडिरहेकाछन्
गढीको वरिपरि
एकमुठ्ठी साथीहरू
धापिलो सिम खोजिरहेछन्
सुन्तलीमाइको ढाडमा
सिन्दूरेझैँ बगेका
घलानका जीवनहरू
रगतको मूल्य खोजिरहेछन् ।
झण्डा टाँसिएको घरमा
ठिङ्ग उभिएर प्रश्न गर्छु
मेरो टाउकोमा
कुद्छन् विजुलीका नशाहरू
सालका पातझैँ हल्रिहे थे
आफ्नो जात जनाएर
भिमानका बस्तीहरू
अँध्यारो रातझैँ बनाइदिन्छन्
मन धुजा धुजा हुन्छ
अग्राखहरू लुटेर
उदाङ्गो बनाइएको
एउटा कुरुप शहर हो
भिमान !
क्रान्ति पुरुषहरू
यहाँ बस्तै बस्दैनन्
त्यसैले फूलमाया हराइन्
दुधे बालकसँगै
राजकुमारका मीठा सपनाहरू
रोपिएका छैनन्
उषाको मुहार हेर्न
मलाई फिट्टिक्कै मन छैन
जहाँ फुलेकि छैन , पूलमाया
शिरुहरू रुँदै थिए
ग्वाङ्झैँ !
फूल चुसेर फस्टाएका
हाम्रा कमाण्डरहरू
अस्तित्व भन्दा टाढाछन्
जुर्मुराएका घलानहरू
चुप छन्
कमाण्डरहरू छाप्रामा छैनन्
कमलामाइको गुनगुनमा
भिमानचोकमा उभिएर
सालघारीको जङ्गल भित्र
फूलमाया कुरिरहेछु
तातोवाफले ,छटपट्टिएका सर्पहरू
बाटाहरूमा सलबलाईरहेथे
भिमानको चित्कारसँगैँ
टाउकामा चट्किन्छ
सालका पातहरू बास्छन्
शिरानीमा
झुपडीहरू उफ्रिरहे थे
पागलझैँ !
आजादका मीठामीठा स्वरहरू
गढीमा गुञ्जीरहेका
सुन मान्छेहरू !
भिमानमा
संवत्बर फुट्छ
खल्याङ र वल्याङ
कृष्णमायाको
पिंढीमा बसरे
कवि कविता कोरिरहेको हुन्छ
छामी रहेको हुन्छ हृदय
नयाँ अनुहार भएर होला
खुल्ला परिवेशमा बोल्न चाहेनन्
त्यहाँका मानिसहरू
टिकट घर थक थक गरिरहन्छ
पातलै गुडिरहेका
सुनसान शहर भिमान
सहन वाध्य छ
फूलमायाका घाउहरू
सुन्तलीमाइकै गीत गाइरहेथे
रातो झण्डा चुपचाप रह्यो
किन भने
त्यहाँ घलानहरूका
शालिकहरू थिएनन्
कृष्ण मायाका तरुलताहरू
आशाको पर्दा उघारिरहे थे
सभ्यताको मैदानमा
उनीहरूले धेरै प्रश्न गरे
एउटा बटुवालाई
बटुवा मौन रह्यो
आजको प्रश्नले
ऊ निकै घायल छ
अन्पूर्ण खाजाघरमा
शिखर होटल उभिनैरह्यो
स्तब्ध बनाएर
हामीसँगै !

प्रतिक्रियाहरु