कमरेडलाई कमरेडको प्रशिक्षण – बलराम तिमल्सिना

२०७५ बैशाख ११ गते, मंगलवार

हत्तेरिका कमरेड !
अप्ठेरो नमान्नू न
अलिअलि कस्तो कस्तो लागिहाल्छ नि
नयाँ नयाँमा यस्तै हो कमरेड
हल्का अन इजी हुन्छ हुन्छ !

अलिअलि अप्ठेरो त तपाईलाई
पहिलो पटक बन्दूक बोक्दा भयो होला
त्योभन्दा बढी भयो होला
बन्दूक बुझाएको बेला
तपाईले खुरुखुरु बुझाएकै त हो कमरेड
अलिअलि लाज लाजजस्तो भैहाल्छ नि
त्यसरी रातो पिरो नहुनू न कमरेड
एकतामा अप्ठेरो पर्छ क्या कमरेड !

एता हेर्नुस त कमरेड !
जस्तै नि कमरेड –
पहिलो पटक घुष खाँदा
पहिलो पटक कमिशन बुझ्दा
पहिलो पटक घडेरी जोड्दा
या पहिलो पटक शेयर किन्दा
मनमा चिसो त पस्यो होला नि कमरेड ?
पहिलो पटक ठमेल छिर्दा पनि
मुख हेर्न लाज भयो होला नि कमरेड
हाम्लाई पनि चिसो पस्या थ्यो उहिलै
अलिअलि त पसिहाल्छ नि
त्यस्तो त भैहाल्छ नि कमरेड
पचाउँन पो सिक्नु पर्छ
ल्याम्म पचाउँने हो कमरेड !

पहिलो पटक छोड्दा
आफैले बनाएको पथ
हल्का सिरिङ्ग भयो होला नि कमरेड ?
यो पटक पनि त छुटिसक्यो केही
डल्लै परिचय तपाईको गयो
इतिहासको विषय भयो
यो पटक पनि
आफ्नै नाम छोड्दा
केही न केही त भयो होला नि ?
अलिअलि हुन दिनु पर्छ क्या कमरेड
मन त हो भैहाल्छ नि हल्का त
मेरो कुरा बुझ्नु भयो नि कमरेड ?

अव सिध्दान्तले भात पाक्दैन कमरेड
न आदेशले भात पाक्छ हिजोजस्तो
घर परिवार छन इस्टमित्र छन
हल्का जोडजाम गर्नु परो नि कमरेड
अनि त्यो जोडजाम गर्न
सिध्दान्त पक्रेर कहाँ होला र कमरेड !

यी हामीलाई हेर्नुस न
कम्निष्ट पनि भएकै छौं
जनताले पत्याएकै छन्
नपत्याए तपाई र मेरो आकार हेर्नुस
विदेशीले पनि पत्याएकै छन्
राष्ट्रवादी पनि एक लम्वरको भैया छ
यो पनि सवैले पत्याएकै छन्
स्कूल अस्पताल सव चलाएकै छौं
आइएनजिओमा रजगज गरेकै छौं
सम्पत्ति पनि जोडेका छौं
राजनीति पनि गरेका छौं
गर्ने त यस्तो हो नि कमरेड !

अव हामीसँगै हिड्ने भएपछि
हामीजस्तै हुनु परो नि कमरेड
खान सिक्नु परो
लाउन सिक्नु परो
लुकाउँन फकाउँन सवै सिक्नु परो
ह्वास्ल्याङ्गे तरिकाले कहाँ हुन्छ कमरेड
हिजोको तुजुक झिकेर कहाँ हुन्छ ?

अव त मौकामा ज्ञानी बन्ने हो कमरेड
हस भन्ने/ हजुर भन्ने
कम्निस्टमा पनि हुन्छ नि मानमनितो
त्यो जम्मै सिक्नु परो नि कमरेड
ह्या कमरेड पनि !
कताको लेनिन खै भनिराख्या भन्या
लेनिन त मरिसके नि
मरेको मान्छे फेरि आउँछ त ?
तपाई भौतिकवादी हैन कमरेड ?
अव त हामी नै
आफै मार्क्स
आफै लेनिन
आफै माओ क्या कमरेड !

मेरो कुरा ध्यान पुर्वक सुनेर
मुन्टो हल्लाउँनु भएकोमा
र मुसुक्क हाँस्नु भएकोमा
तपाईलाई धन्यवाद छ कमरेड

प्रतिक्रियाहरु