कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौं, ६ बैशाख । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका छन् । क्युवाको संसद्ले ५७ वर्षिय मिगेल डियाज कनेललाई नयाँ नेतामा चयन गरेको छ । उनले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्त्रोको स्थान लिनेछन् । क्यास्त्रो परिवार दशकौंदेखि क्युवाको सत्तामा रहँदै आएको छ । राउल क्यास्त्रोले सन् २००६ मा दाई फिडेल क्यास्त्रोको हातबाट सत्ता आफ्नो हातमा लिएका थिए ।
संसद्ले नयाँ नेता चयन गरेसँगै क्युवाको नेसनल एसेम्लीले उनका नाममा मतदान गर्दै नयाँ राष्ट्रपति चयन भएको घोषणा गर्ने छ । राउल क्यास्त्रोले पद छाडे पनि साम्यवादी मुलुक क्युवाको राजनीतिमा प्रभावशाली व्यक्ति कै रुपमा रहनेछन् । उनी सन् २०२१ मा हुने कम्युनिस्ट पार्टीको राष्ट्रिय अधिवेशनसम्म पार्टीको अध्यक्ष रहनेछन् । तर नेसनल एसेम्लीमा मतदानपछि राष्ट्रपतिको पदभार भने उनले डियाजलाई सुम्पने छन् । फिडेल क्यास्त्रो र उनका भाई राउल क्यास्त्रोको क्रान्तिकारी इतिहास भए पनि डियाजको यस्तो इतिहास छैन । सन् २०१३ मा क्युवाको उपराष्ट्रपति बन्दा उनको नाम खासै चर्चामा थिएन । तर त्यसपछि उनी क्यास्त्रोका दाहिने हात बन्दै आएका थिए । उनले पछिल्लो पाँच वर्षमा राष्ट्रपतिको कार्यभार सम्हाल्न आफूलाई तयार पारेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु