कनकमणि फन्दामा पर्ने

२०७१ बैशाख ५ गते, शुक्रबार


काठमाडौ, ५ वैशाख : नेपालका लागि नर्वेको राजदूत केजल तर्मोड पिटरसनले कनकमणि दीक्षितको नाममा साउथ एसिया ट्रष्टलाई दिइएको रकमबारे छानविन गर्ने बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार विहान भएको भेटमा राजदूत केजलले ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रकम दुरुपयोग भएको/नभएकोबारे छानविन गर्ने बताएका प्रचण्डका स्वकीय सचिव चुणामणि खड्काले जानकारी दिए । ‘हामीले दक्षिण एसियामा शान्ति र स्थायित्व होस् भन्ने चाहेर रकम दिएका हौँ’ केजलको भनाई उद्धृत गर्दै खड्काले भने, ‘यदि त्यसरी दुरुपयोग भएको रहेछ भने छानविनपछि पत्ता लाग्ला । हामी छानविन गरिहाल्छौँ ।’भेटमा केजलले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति आफूहरुको सदा समर्थन र सद्भाव रहेको भन्दै आफूहरुलाई नकारात्मक दृष्टिकोणले नहेर्न आग्रह गरेका थिए । प्रचण्डलाई भेट्न उनकै निवास लाजिम्पाटका पुगेका राजदूत केजलले संसदमै आफूहरुको विषयमा नकारात्मक टिकाटिप्पणी भएकोमा दुःख प्रकट गरे ।
जवाफमा एमाओवादीका अध्यक्ष प्रचण्डले हिमाल मिडियासँग आवद्ध केही व्यक्तिहरु नेपालको शान्तिप्रक्रिया भाँड्ने षड्यन्त्रमा लागेकोले राम्रोसँग छानविन गर्न सुझाए । ‘हामीले नर्वे सरकारलाई आरोप लगाउन खोजेका होइनौँ’ प्रचण्डको भनाई उद्धृत गर्दै खड्काले भने, ‘तर हिमाल मिडियासँग आवद्ध केही पात्रहरु पैसाको दुरुपयोग गरेर शान्तिप्रक्रिया भाँड्न खोज्दैछन् ।’
हिमाल साउथ एसियाका सम्पादक तथा हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले ६ करोड भन्दा बढी रकम लिएको ग्रान्ट लेटर एमाओवादीले विहीबार संसद बैठकमा सार्वजनिक गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु