कथाङ्स – बलराम तिमल्सिना

२०७६ चैत्र ३० गते, आईतवार

भ्यागुते कुवामा नुहाएर फर्केपछि
सूर्यको प्रचण्डता
बिस्तारै सेलाउँदै जान्छ
र बदलिन्छ त्यो
चिसो विशालकाय वरफको टुक्रामा !

चिसोको कहर फैलिन्छ
कोलाहल मच्चिन्छ चारैतिर
कमजोर जीवहरू भुतुभुतु मर्छन
र चिसोका सहयात्रीमा फेरिन्छन् !

आकासमा वादल देखिन्छ
तर गर्जन्छ मात्रै
एक थोपा पानी पार्दैन त्यसले
वादल पनि विस्तारै जम्छ
र वरफको पिण्डमा मिसिन्छ !

वादलकै हटेपछि आकासबाट
निस्कन्छ एउटा मधुरो किरण
ध्रुवीय प्रदेशको दिन जस्तै
र फैलिन्छ एउटा मधुरो आशा !

केही दिनपछि
किरणबाट उछिट्टिन्छ एउटा झिल्को
र बेजोडले घुम्न थाल्छ वायुमण्डलमा
वैज्ञानिकहरूले नाम दिन्छन्-
नयाँ विप्लव तारा !

वरफ बनेको पिण्ड
एकाएक बदलिन्छ मानवाकृतिमा
राजनीतिको गफ जोत्न थाल्छ
र भन्छ ऊ-
पूर्व जुनीमा म नामुद क्रान्तिकारी थिएँ !

त्यसको भोलिपल्ट
त्यो वरफ-मानव
देखिन्छ कसैको आँगनमा
राजगद्दीजस्तै कुर्सीमा
कोही बसिरहेछ खड्ग बोकेर
र त्यो वरफ-मानव
साठी-चालिसको हिसाव गरिरहेको देखिन्छ
अनि खड्ग बोक्ने मान्छे देखिन्छ
“हुदैन” को अर्थमा मुन्टो हल्लाइरहेको !

प्रतिक्रियाहरु