कक्षा ११ र १२ मा योग, फेसन, सौन्दर्यलगायतका बिषय थप

२०७६ फाल्गुन ११ गते, आईतवार

काठमाडौं, ११ फागुन । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पारित गर्दै आगामी बर्षदेखी कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागु गर्न लागेको छ । सरकारले १२ कक्षा सम्मलाई माध्यामिक तह बनाएसँगै अब कक्षा ११ र १२ मा कुनै पनि सङ्काय रहने छैन् । अब कक्षा ११ मा विद्यार्थीले सात वटा विषय पढ्नु पर्नेछ । जसमा नेपाल, अँग्रेजी र सामाजिक शिक्षालाई अनिवार्य गरिएको छ । कक्षा ११ र १२ मा १ सय ९ वटा ऐच्छिक विषय राखिएको छ । जुन विषयहरुलाई चारवटा समुहमा वाडिएको छ भने ती अन्र्तगत विद्यार्थीले तीन विषय छनोट गरेर पढन पाउने छन् । यस्तै चौथो समुहमा रहेको विषयमध्ये विद्यार्थीले चाहे भने आफनो खुसीको थप विषय पढन पाउने व्यवस्था गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराईले बताए ।
चिकित्सा, इन्जिनियरिङ्, बैंकिङ, र शिक्षा क्षेत्रतर्फ जान चाहने विद्यार्थीले सो अनुरुप नै विषयहरु छनोट गर्न पाउने छन् । कक्षा ११ मा छनोट गरेका विषयहरु कक्षा १२ मा नपढ्न पनि पाउछन् । कक्षा १२ मा नयाँ विषय पनि छनोट गर्न सक्नेछन् । यस्तै नयाँ पाठ्क्रम प्रारुपले थुप्रै विषयसमेत थप गरेको छ ।
बुढ्यौली शिक्षा, प्लम्बिङ, वायरिङ, योग, फेसन डिजायनिङ्, सौन्दर्य कला , केश कला , पाक कला जस्ता विषय थप गरिएको निर्देशक भट्टराईले जानकारी दिए ।
बजार मागअनुसार विद्यार्थीले सजिलै रोजगारी पाउन सक्ने गरी पाठ्यक्रम बनाइएको उनले बताए । यस्तै सरकारले २०७८ सालमा कक्षा २ , ३ , ६ र १२ मा समेत पाठ्यक्रम परिवर्तन गर्ने जनाएको छ ।
कक्षा ९ को ७९ सालमा र कक्षा १० को ८० सालमा पाठ्यक्रम परिवर्तन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १ मा १ सय ३ विद्यालयमा पाठ्यक्रम परीक्षण गरेर मात्र लागु गराउन खोजेको सरकारले कक्षा ११ मा पाठ्यक्रम परीक्षण गरेन । तर त्यसमा कुनै समस्या देखियो भने परिवर्तन गर्न सकिने केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु