कक्षा १२ को विज्ञान र सँस्कृत विषयमा ७१ . ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाडौं,११ भदौ । उच्च माद्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान र सँस्कृत विषयको परीक्षाफल सार्बजनिक गरेको छ । आज सार्बजनिक नतिजा अनुसार नियमित तर्फ ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्षको भन्दा १ दशमलव २२ प्रतिशत धैरै विद्यार्थीहरु यसपटक उत्तीर्ण भएका छन् । गत बर्ष नियमित तर्फ ७० दशमलव ४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।
गत जेठ-असार महिनामा भएको परीक्षामा नियमित तर्फ ३७ हजार ९ सय ९८ परीक्षार्थी सहभागी भएकामा २७ हजार २२७ विद्यार्थी उत्तीर्ण भएको उच्च माद्यमिक शिक्षा परिषदले जनाएको छ ।
यस्तै आंशिक तर्फ ८ हजार ४०६ परीक्षार्थी सम्मिलित भएकोमा ३ हजार ७२४ जना उत्तीर्ण भएका छन् । नियमित तर्फ ५७ जना र आंशिक तर्फ १३ जनाको परीक्षा रद्ध गरिएको छ ।
सँधै ढिलो नतिजा सार्वजनिक गर्ने भनेर आलोचना खेप्दै आएको परिषदले यसपटक चाँडै नतिजा प्रकाशन गरेको छ । भूकम्पका कारण दुई चरणमा भएको परीक्षा अन्तर्गत पहिलो चरणमा भूकम्पले कम क्षती पुर्‍याएका ६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० देखि ३१ गतेसम्म र कक्षा ११ को परीक्षा असार १ देखि १२ सम्म भएको थियो ।

प्रतिक्रियाहरु