कक्षा १२ को नतिजा एक हप्ताभित्र

२०७१ भाद्र ६ गते, शुक्रबार


काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताए ।अहिले उत्तरपुस्तिकाको परीक्षण सकेर सम्परीक्षण, कोडिङ, डिकोडिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले अन्य संकायको नतिजा भने भदौ अन्तिम हप्तासम्म सार्वजनिक गर्ने बताए ।जेठमा २५ दिन उच्चमाध्यमिक शिक्षक संघ(हिस्टान)को तालाबन्दीले उत्तरपुस्तिका परीक्षण गर्न नपाएका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको हो । परीक्षामा देशभरबाट कुल ३ लाख ८१ हजार ३ सय २२ जना परीक्षार्थी सहभागी भएका थिए ।
परिषदका केही कर्मचारीले भने नियमअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्नुपर्ने भएपनि परीक्षा नियन्त्रक अर्यालको लापरबाहीका कारण नतिजा प्रकाशनमा ढिलाई भएको आरोप लगाएका छन् ।
हिस्टानले उत्तरपुस्तिका परीक्षण कक्षको अगाडिको ढोकामा तालाबन्दी गरेपनि परिषद्ले पछाडिको ढोका खोलेर उत्तरपुस्तिका परीक्षणको व्यबस्था मिलाएकाले तालाबन्दीले उत्तरपुस्तिका परीक्षणलाई असर नगरेको ती कर्मचारीको भनाई छ ।
नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आइरहँदा पनि परीक्षा नियन्त्रक अर्याल कार्यालयमा भन्दा बढी समय कार्यालय बाहिर हुने गरेकाले नतिजा प्रकाशनमा ढिलाई भएको परिषद्का कर्मचारीको आरोप छ ।

प्रतिक्रियाहरु