‘ओली सरकारलाई गलहत्याएरै छाड्छौं ‘

२०७५ असार १ गते, शुक्रबार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अबको सडक आन्दोलनले सरकारलाई गलहत्याएरै छाड्ने बताएका छन् । नेता गजुरेलले चर्काे मात्रामा बढाएको मूल्यबृद्धिलाई फिर्ता नगरे केही समयभित्र ओली सरकारलाई सडकबाट फ्याँकिदिने चेतावनी पनि दिएका छन् । बिहीबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गजुरेलले अब जनताका जनजीविकाका समस्याहरुको उचित सम्बोधन भएन भने सडक सङ्घर्षको एक मात्र विकल्पका रुपमा बाँकी रहने चेतावनी समेत दिएका छन् । उनका अनुसार यदि मूल्य घटाएर पुरानै स्थितिमा लगिएन भने अब ओली सरकारको विकल्प सडकबाट खोजी गरिने छ । उनले भने– ‘सरकारको विकल्पको कुरा गर्दा मुख मिठ्याएर बसेका पुष्पकमल दाहाल वा शेरबहादुर देउवा कसैले पनि आफ्नो पालो आइहाल्छ कि भनेर साइत जुराउनु पर्ने र नयाँ दौरासुरुवाल सिलाएर ठीक्क परिहाल्नु पर्ने कष्ट गर्नुपर्ने छैन । जनताले यसको विकल्प सडक आन्दोलनबाट दिने छन् ।’ सम्बोधनको क्रममा गजुरेलले स्पष्ट गरे– ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सत्तामा विराजमान हुन पुगेको ओलीको सरकारले चार महिनाको छोटो अबधिभित्रै जनताले थेगी नसक्ने महङ्गीको उपहार दिएको छ । ‘समाजवाद निर्माण’ को यात्रामा रहेको सरकार अझ त्यो पनि ‘वाम सरकार’ ले जनतालाई गुमराहमा पारेर स्वेच्छाचारी किसिमले गरेका यी सबै कुराहरु जनविरोधी चरित्रको सरकारले गर्ने खालका भएकाले यी कसैका लागि पनि सैह्य छैनन् ।’ यसो गर्दै जाने र मूल्यवृद्धि तथा जनविरोधी कदमहरु सच्याएर सरकार जनताको निगरानीमा अघि नबढे त्यसको विकल्प जनताले सडकबाटै दिने कुरा पनि गजुरेलले बताए ।
सोहि कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्यूरो सदस्य उमा भुजेलले केपी–प्रचण्डको सरकारले जनतालाई महंगी र भ्रष्टाचारको मारमा पारेको बताइन् । सरकारले जनताको न्यायिक आवाजलाई दबाउन खोजेको र दलाल–कालोबजारियालाई संरक्षण दिएको भन्दै महंगी घटाएर तस्कर र भ्रष्टचारीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गरिन् । अधिकारको संघर्षमा रहेका नागरिकमाथि धरपकड, यातना, जेल देखाएर सरकारले समाजमा आतंक मच्चाएको बताउँदै त्यस्ता गतिविधिलाई तत्काल रोक्न सरकारसँग आग्रह गरिन ्। ‘यदि परिवर्तनकामी जनताको न्यायिक अधिकारको कुरा सरकारले सुन्दैन भने जनताले पहल लिएर कारवाही अगाडि बढाउनेछन्’ उनले भनिन् ‘त्यो बेला उत्पन्न परिणामको जिम्मेवार दलाल सरकार हुनेछ ।’ उनले मूल्य वृद्धि फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी सरकारलाई दिइन् । प्रधानमन्त्रीप्रति लक्षित गर्दै भनिन् ‘ओलीको नक्कली राष्ट्रवादको भ्रममा परेर चुनावमा जिताए । आज महंगीले ढाड सेक्ने बनायो । जनताले त्यसबेला चिन्न सकेनन् । अब जनता झुक्किनु हँुदैन ।’ यो सरकारको मुल उद्देश्य नागरिकमाथि शोषण थोपर्ने कुरा बुझेरै जनताले भ्रष्टचारी र कालाबजारिया–माफियालाई कालो मोसो दलेर सामाजिक रुपमा बहिष्कार गर्दै कार्यक्रम रफ्तारमा बढाइराखेको भनाई नेतृ भुजेल ले राखिन् । जनताले गर्ने कारवाहीको नेतृत्व नेकपाले गर्ने समेत उनको भनाई छ ।
यस्तै नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीलेसो सो सभालाई सम्बोधन गर्दै भने– ‘कथित वामपन्थी सरकारले चार महिना नकाट्दै पाँचपाँच पटक मूल्य वृद्धि गर्नु, दैनिक उपभोगका कामानहरु किन्न नसक्ने हुनु, देखाउनका लागि बजार अनुगमन गरिनु, कालो बजारी र तस्करीलाई सत्तासीनहरुका आयआर्जनका रुपमा अघि बढाउनु र उल्टै जनतालाई ढाँटेर भ्रष्टाचारमा शुन्य सहनशीलताको कुरा गर्नु’ आम जनताका लागि सैह्य हुने कुराहरु होइनन् ।’ उनले जोड दिए– ‘यो सरकार न त वामपन्थीहरुको हो, न त राष्ट्रवादीहरुको नै, बरु यो मयुरको प्वाँख लगाएर सिंगारिएको काग हो । यो नक्कली राष्ट्रवादी र नक्कली वामपन्थी हो । यसले जनतालाई ढाँट्नका लागि कम्युनिस्ट नाम धारण गरेको हो ।’
यसैगरी सो सभालाई सम्बोधन गर्दै अर्का नेता तथा नेकपाका केन्द्रीय सदस्य रत्न जोशीले ‘कम्युनिस्टको खोल ओढेको सरकारविरुद्ध एकीकृत ढङ्गले आन्दोलन लैजानुको विकल्प नरहेको’ बताउँदै ‘यो आन्दोलन जनसरोकारको आन्दोलनमा परिणत हुने’ विश्वास व्यक्त गरे ।
सो विरोध कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य शारदा महतले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य मकर गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु