ओली र प्रचण्ड भतुवा कम्युनिष्ट !

२०७६ जेष्ठ ४ गते, शनिबार

काठमाडौं, ४ जेठ । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणले सत्तारुढ दल नेकपाका नेताहरुलाई भतुवाको संज्ञा दिएका छन् । नेता सिपी गजुलेरद्वारा लिखित संग्रह “राजनीतिक घटनाक्रम र प्रवृतिहरु” को विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । महासचिव किरणले बर्तमान सरकारलाई २ तिहाईको दम्भ नदेखाउँन चेतावनी दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भतुवा कम्युनिष्टको संज्ञा दिएका हुन् । उनले भने “ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् ,भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । कांग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन् । उनीहरु कम्युनिष्ट नै होइनन् भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् ” उनले अवसरवाद र संशोधनवादमा फसेका कम्युनिष्टहरुले देशलाई बर्वाद बनाएको भन्दै सच्चा कम्युनिष्टहरु देशको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि देशमा जनवादी क्रान्ति पुरा गरेरै छाड्ने बताए ।
महासचिव किरणले नेपाली क्रान्तिकारी आन्दोलनमा टुटफुट र विभाजनपछि पुनः क्रान्तिकारी शक्तिहरुको एकता, ध्रुबिकरण र रुपान्तरणसहित सशक्त क्रान्तिकारी आन्दोलन उठेको इतिहासले प्रष्ट पारेको भन्दै आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिको तयारीमा ध्यान दिएको बताए । उनले दशबर्षे जनयुद्धमा राम्रै गरेका सहयोद्धाहरु पछिल्लो समयमा काम नलाग्ने गरि बिग्रेकाले राजनीतिक रुपमा सम्बन्ध बिच्छेद गर्नु परेको भन्दै आफुसँगै रहेका पुराना नेता सीपी गजुरेलको राजनीतिक, सामाजिक, लेखकीय, बौद्धिक तथा अन्य विशेष क्षमताहरुको चर्चा समेत गरे । उनले देश र जनताप्रति राजनीतिमा नैतिकता र इमान्दार गुमाएकाहरुले साथ छोडेपनि आफुसँग धेरै असल, क्रान्तिकारी र इमान बोकेका नेता, कार्यकर्ताहरु भएको भन्दै त्यसैबाट जनताको मुद्धा बोक्ने, संघर्षशिल पार्टीको विकास हुने ठोकुवा गरे । उनले नेता गजुरेलको पुस्तक विमोचन गर्दै त्यसलाई क्रान्तिकारी आन्दोलनको महत्वपूर्ण साधनका रुपमा व्याख्या गरे । पुस्तकमा विचार, राजनीति, दर्शन गरी विभिन्न दश विशेषता रहेको भन्दै बैद्यले नेता गजुरेललाई देश र जनताको पक्षमा अझै सशक्त रुपमा कलम चलाउन हौस्याएका थिए ।
अक्सफोर्ड पब्लिकेशनका प्रमुख डोलीन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि वक्ताहरुले पुस्तकको चर्चा गरेका थिए । प्रमुख अतिथि किरण . नेकपाका अध्यक्ष ऋषि कट्टेल, लेखक, साहित्यकार जगदिश भण्डारी, विमोचित पुस्तकका लेखक सीपी गजुरेल, क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस अतिथि रहेका उक्त कार्यक्रम बुद्धिजिवि संगठनका लोकराज रेग्मीले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु