ऐतिहासिक संरचना पानीका कारण ध्वस्त हुँदै

२०७२ असार १३ गते, आईतवार

काठमाडौं, १३असार । गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका शक्तिपीठ तथा पुरातात्विक सम्पदाको संरक्षणमा पुरातत्व विभागले चासो नदिँदा जीर्ण भएका संरचना पनि ध्वस्त हुने अवस्थामा पुगेका छन् । वैशाख १२ गतेको भूकम्पबाट साततले नुवाकोट दरबार, भैरवीदेवी मन्दिर, रङ्गमहल, गारदघर, तलेजु भवानीको मन्दिरलगायतमा पुगेको क्षतिपछि संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा बर्खे झरीले थप क्षति पु¥याउन थालेको छ ।
जिल्लास्थित दैवी प्रकोप उद्धार समिति र विभिन्न निकायले राहतका नाममा एक लाखभन्दा बढी थान त्रिपाल वितरण गरेको जनाए पनि नुवाकोटको शानका रुपमा रहेको ३०० वर्षसम्मको इतिहास बोकेको ऐतिहासिक दरबारको जीर्ण संरचना अविरल वर्षाले ध्वस्त बनाउन लागेको भन्दै स्थानीय जनताले चित्त दुखाएका छन् ।
भूकम्पले क्षति पु¥याएको संरचनाको संरक्षणमा आफूहरु गम्भीर भएर लागेको पुरातत्व विभागका निर्देशकसहितको टोलीले बारम्बार जनाए पनि अहिलेसम्म ध्वस्त संरचनाले त्रिपालसमेत नपाएको भन्दै भैरवीदेवी मन्दिरका पूजारी तथा जीवित भगवान्का रुपमा पुजिँदै आएका धामी हरिमानसिंह डङ्गोलले गुनासो गर्नुभएको छ । पुरातत्वले तुरुन्तै संरक्षण थाल्ने आश्वासन दिए पनि अहिलेसम्म काम हुन नसकेको उहाँले बताउनुभएको छ ।
भूकम्पले क्षति पु¥याएपछि पनि थप क्षति हुनबाट सामान्य त्रिपालमात्र ओढाएर भए पनि संरक्षण गर्न सकिने सम्पदा र शक्तिपीठको बेवास्तासँगै ध्वस्त बन्ने अवस्थामा पुगेको छ ।
ऐतिहासिक दरबार, मन्दिर, पाटीपौवालाई जिल्लास्थित सरकारी निकायदेखि पुरातत्व विभागले समयमै चासो नदिँदा अस्तित्व नै मेटिने अवस्थामा पुग्न लागेको भन्दै स्थानीयवासीमा आफ्नो घर लड्दाको भन्दा बढी चिन्ता छाएको छ ।
भूकम्पले गाह्रो चर्काएको तथा दक्षिणतर्फ फर्काएको साततले दरबार र भैरवी देखिएको मन्दिरको स्याहारमा सम्बन्धित निकायले चासो नदिँदा अहिलेको बर्खे झरीले आकर्षक बुट्टा भरिएका टुँडाल, छाना थेग्न प्रयोग गरिएको काठ, झ्याल र ढोका कुहिन थालेको छ । भूकम्पले दक्षिणतर्फ केही ढल्किएको साततले दरबारको छानामा पुगेको क्षति सामान्य रुपमा त्रिपाल ओढाएर संरक्षणमा ध्यान नदिँदा अहिले दरबारमा पानी चुहिएर थप क्षति पुग्न थालेको छ ।
भूकम्पले क्षति पु¥याएको भैरवीदेवी मन्दिरमा रहेका भगवान्को सामग्री सुरक्षाका लागि दरबारमै राखिएका छन् । भैरवीदेवीको मन्दिरमा रहेको गजुरसहितको छाना निकालिए पनि त्यसको टायल, टुँडालको संरक्षण गरिएको छैन । भूकम्पले क्षति पु¥याएको भैरवीदेवी मन्दिरको नियमित पूजा र भगवान्लाई भुजा चढाउने कार्य पनि असुरक्षाले गर्दा बाहिरबाट नै चलाइएको मन्दिरका पुजारी तथा धामी डङ्गोलले बताउनुभएको छ ।
मन्दिरमा रहेका देवी देवताका मूर्ति साततले दरबारमा सुरक्षित राखेर मन्दिरको पुनःनिर्माण गर्ने बताए पनि अहिलेसम्म त्यो काम सुरु हुन सकेको छैन । गजुर र छाना निकाल्दा बर्खाको पानीमा भिजेको भैरवीदेवीको मूर्तिलाई आन्तरिक स्रोतबाट नै सामान्य पालले ढाकिएको छ तर त्यो अपर्याप्त छ । भैरवीदेवी मन्दिरसँगै रहेको पुजारी बस्ने घर र नुवाकोट दरबार मौला अमाल कार्यालयका प्रमुख द्वारे महेन्द्रकुमार शाही बस्दै आउनुभएको ऐतिहासिक सरकारी संरचनाको संरक्षणमा सम्बन्धित निकायले बेवास्ता गरेका छन् । पुरातत्व विभागका प्रतिनिधिले पुनःनिर्माणमा चासो नदिँदा सरकारी संरचनालाई आन्तरिक स्रोतबाट बचाउन सामान्य पहल गरेको मन्दिरका पुजारी डङ्गोलले बताउनुभयो ।
साततले दरबार र भैरवीदेवी मन्दिरमात्र नभई ऐसिहासिक धार्मिक महत्व बोकेको तुलजादेवी भवानीको मन्दिरमा अघिल्लो वर्षदेखि त्रिपाल ओढाएर बर्खेपानीबाट क्षति हुनबाट जोगाउने प्रयास गरिए पनि यस वर्ष भने भूकम्पले थप क्षति पु¥याएको छ ।
भूकम्पले क्षति पु¥याएपछि त्यहाँका टुँडाल, झ्यालढोकालगायतका करोडौँ रुपैयाँसँग पनि तुलना गर्न नसकिने ऐतिहासिक महत्वका संरचना संरक्षणको अभावमा नष्ट हुन लागेको भन्दै सरकारका प्रतिनिधिको जिम्मेवारी बहन गर्दै आउनुभएका नुवाकोट दरबार मौल अमालका प्रमुख महेन्द्रकुमार शाहीले चित्त दुखाउनुभएको छ ।
भैरवी मन्दिर परिसरमा रहेको लामपाटी, दरबार परिसरमा रहको रङ्गमहल, गारदघर, लक्ष्मीनारायण लगायतको मन्दिरको संरचनाको संरक्षणको अभावमा जीर्ण हुन लागेकामा शाही दुखित हुनुहुन्छ ।
स्थानीय निकायको चासोको अभाव र मुख्य जिम्मेवारी पाएको पुरातत्व विभागले संरक्षणका लागि पहल नगर्दा जीर्ण भएका संरचनाको जिम्मा स्थानीय जनतालाई दिनु पर्ने उहाँको माग छ ।
विभागले लाखौँ रुपैयाँ बजेट छुट्याउँदै अहिले अवलोकन नै गर्न नमिल्ने दरबारको अवलोकनका लागि आउने पर्यटकका लागि टिकट काट्न टिकट घर र पर्खालको भने धमाधम निर्माण भइरहेको छ । यसप्रति सरोकारवाला रुष्ट छन् ।
भूकम्पले जीर्ण बनाएको दरबारमा पानी पस्नबाट जोगाउन उद्योग वाणिज्य सङ्घ नुवाकोटले दिएको त्रिपालसमेत प्रयोग नै नगरेको भन्दै दरबार हेरचाह कार्यालयको स्थानीय सरोकारवालाहरुले आलोचना गरेका छन् ।
सङ्घले उपलब्ध गराएको त्रिपाल अपुग भएको र पुरातात्विक विभागबाट संरक्षणको पहल भइरहेकाले केही ढिला हुन पुगेको भनाइ दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलको छ । विभागले पहल गरिरहेकाले अबको एक साताभित्र साततले दरबारलगायतका पुरातात्विक सम्पदा र शक्तिपीठहरुको संरक्षणको प्रयास सुरु हुने उहाँले बताउनुभयो ।
गणतन्त्र स्थापनापछि सर्वसाधारणका लागि खुला गरिएको नुवाकोटको शानका रुपमा रहेको साततले दरबारमा अहिले प्रवेशमा रोक लगाउँदै आसपासको क्षेत्रलाईसमेत खतराको सङ्केत दिइएको छ । सरकारले भूकम्पबाट क्षति भएका पुरातात्विक सम्पदा र शक्तिपीठको पुनःनिर्माणमा जोड दिने बताइरहेको समयमा जीर्णसँगै ध्वस्त बन्न लागेको नुवाकोटको साततले दरबार र दरबारको आसपासमा रहेका शक्तिपीठ र अन्य ऐतिहासिक सम्पदा जोगाउन नुवाकोट मण्डलाका स्थानीय जनताले थालेको प्रयास सराहनीय रहेको छ । कपिलदेव खनाल/रासस

प्रतिक्रियाहरु