ऐतिहासिक मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने

२०७४ मंसिर ६ गते, बुधबार

काठमाडौं, ६ मंसिर । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ । तत्कालीन बाइसे÷चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो । नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार भ्यु टावर निर्माणका लागि चालू आर्थिक वर्षमा रु आठ लाख वजेट विनियोजन गरिएको छ । संग्रहालय निर्माणका लागि रुरु–रेसुङ्गा विकास समिति, पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले निरीक्षण र अनुगमन गर्ने भएका छन् । विस्तृत अनुगमन र सर्वेक्षणपछि केन्द्रीय बजेटमा थप हुने अपेक्षा नगरपालिकाको छ ।
प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा पर्ने सो दरबार क्षेत्रमा तारबार लगाउने काम पनि शुरु भएको छ । दलहरुले यसको संरक्षण र प्रवद्र्धनका लागि चुनावी मुद्दा बनाउँदै आएका छन् ।
छिमेकी भारतबाट विसं १५०० तिर आएका विजयसिंह ठकुरीले यहाँ शासन गरेका थिए । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सिंहहरुको राज्य गुमेको थियो । दरबारमा रहेको श्री खड्गदेवीको मन्दिरमा हरेक महानवमीका रात मेला लाग्छ भने मेलामा हुने सराय नाच लोकप्रिय मानिन्छ । पाँच रोपनी क्षेत्रफलमा रहेको यो क्षेत्रलाई पुरातत्व विभागको संरक्षण क्षेत्रमध्येको ग श्रेणीमा राखिएको छ ।
मन्दिरका पूजा व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष पदमसिंह ठकुरी दरबार क्षेत्रलाई थप पर्यटकीय र धार्मिक महत्वको स्थल बनाउनुपर्ने बताउनुहुन्छ । दरबारको छानो उडेकाले हाल त्यसमा पुरातात्विक महत्व झल्कने गरी झिँगटीले छाइएको छ । दरबार क्षेत्र र आसपासमा हाल खानेपानीको अभाव भएकाले स्थानीय बासिन्दा मर्कामा छन् ।
नजिकैको पृथ्वी मावि, बाडगाउँका शिक्षक बाबुराम घिमिरे पनि मन्दिरमा परम्परा धान्ने संस्कृतिले निरन्तरता पाए यसलाई आधुनिकीकरण गरी पर्यटक आकर्षित गराउन सकिनेमा जोड दिनुहुन्छ । सामाजिक विषयका आफ्ना विद्यार्थीलाई दरबारस्थलमा समय समयमा भ्रमण गराउने गरिएको उहाँ बताउनुहुन्छ । बाँडगाउँकै विष्णुकुमारी विक सो क्षेत्रमा खानेपानीको समस्या हुँदा आफूहरु दुई घण्टासम्मको उकालो ओरालो गरेर पानी ओसार्न बाध्य भएको गुनासो गर्नुहुन्छ । – प्रकाश सिलवाल /रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार