ऐतिहासिक दरबार नष्ट

२०७२ जेष्ठ १२ गते, मंगलवार

नेपालको इतिहासमा कुशल योद्धा र प्रशासक कहलिएका माथवरसिंह थापाको भाइ रणवीरसिंह थापाको सिन्धुपाल्चोकको तिब्बती सीमा क्षेत्र भोताङ गाविस–१ दूराखाङमा रहेको ऐतिहासिक दरबार भूकम्पका कारण पूर्ण रुपमा नष्ट भएको छ ।
माथवरसिंह थापाको आफ्नै भान्जा जङ्गबहादुर राणाद्वारा हत्या गरिएपछि काठमाडौँ उपत्यकाबाट रणवीरसिंह विस्थापित भएका थिए । विसं १९९० मा रणवीरसिंहले उक्त दरबार निर्माण गरेका थिए ।
प्रत्येक वर्ष जनैपूर्णिमाका दिन मेला लाग्ने धार्मिकस्थल पाँचपोखरी जाने तीर्थयात्रीलाई निःशुल्क खाजाका रुपमा दही चिउरा खुवाउने र सुत्नका लागिसमेत व्यवस्था गरिँदै आएको उक्त दरबार हाल भग्नावशेषमा परिणत भएको छ ।
दरबार निर्माणका लागि प्रयोग गरिएका काठ चितवनबाट लगिएको थियो भने ढुङ्गाको प्लेट गोदावरीबाट र स्थानीय माटो पोलेर बनाइएको टायल छानामा प्रयोग गरिएको थियो ।
दुई तला र नौ कोठा भएको दरबार नेपाली सेना भीमकाली गुल्म मेलम्चीका उपसेनानी हुमनसिंह कुँवर नेतृत्वको टोलीले उद्धार तथा राहत वितरण गर्न स्थलगत भ्रमण गर्दा दरबार भत्किएको पत्ता लगाएको हो ।
पर्यटकीयस्थलका रुपमा रहेको दरबारलाई ढुङ्गाको पर्खाल लगाई कम्पाउन्ड गरिएको थियो भने कम्पाउन्डभित्रै खानेपानीका लागि ढुङ्गेधारा निर्माण गरिएको थियो । दरबारदेखि करिब ५० मिटरको दूरीमा गुम्बा रहेको र सो गुम्बाबाट गुरु रिन्पोछेले तपस्या गरेको हुँदा उक्त स्थान हिन्दू र बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक महत्वको ठाउँ हो । सो स्थानमा पुग्न मेलम्चीबाट बस वा जिपमा चार घन्टा र त्यसपछि डेढ घन्टा उकालो पैदलयात्रा गरेर पुग्न सकिने गुल्मका सेनानी प्रेम हमालले जानकारी दिनुभयो । भूकम्पबाट भत्किएको ऐतिहासिक तथा पर्यटकीय दरबार सरकारले तत्काल पुनः निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । – आदित्य दाहाल, रासस

प्रतिक्रियाहरु