एसएसपी पाण्डे कारवाहीमा

२०७२ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौँ, १५ जेठ । प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी रमेशप्रसाद पाण्डे ठेकेदार तथा व्यापारीसँग आर्थिक लालच देखाएको, चेन अफ कमाण्ड सम्हाल्न नसकेको र दैनिक गतिविधिबारे क्षेत्रीय प्रहरी प्रमुखलाई रिपोटिङ् नगरेको सहित तीन आरोपमा कारवाहीमा परेका छन । प्रहरीको आचरण तथा व्यवहार विपरितको काममा संलग्न रहेको भन्दै एसएसपी पाण्डेलाई विभागीय कारवाही गरिएको हो । आचरण विरुद्धको काम गरेको अभियोगमा एसएसपी पाण्डे सहित मध्यपश्चिममा कार्यरत १ सय ४२ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । ठेकेदार तथा व्यापारीसँग आर्थिक लालच देखाएको उजुरीको छानविनमा दोषि देखिएपछि एसएसपी पाण्डेलाई रेकर्डमा जनिने गरी नसिहत दिइएको मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी केशव अधिकारीले जानकारी दिए । पाण्डे विरुद्ध मातहतका प्रहरी कर्मचारीप्रति अभद्र व्यवहारमा संलग्न रहेको आरोप पनि लगाईएको छ । डिआइजी अधिकारी मध्यपश्चिम प्रहरी प्रमुख भएर आएको ३ महिनाको अविधमा प्रहरी आचरण विपरीत काम गर्ने एसएसपीदेखि जवानसम्म गरी १ सय ४२ जना प्रहरी कारबाहीमा परेका छन । संगठनको आचरण विपरित काम गर्न २९ जनालाई जागिरबाट हटाएको र ८९ जनालाई नसिहत दिइएको डिआईजी अधिकारीले जानकारी दिए । कारवाहीले एसएसपी पाण्डेको बढुवामा असर पार्ने छ । कारवाहीपछि एसएसपी पाण्डे विदामा बसेका छन् । डिआईजी अधिकारीले एसएसपी पाण्डे उपर भएको कारवाहीले आचरण विपरितका काम गर्ने कसैले पनि उन्मुक्ति पाउने छैन भन्ने सन्देश गएको बताए । उनले आफु पनि सँगठन प्रमुखको निगरानीमा रहेको भन्दै आचरण विपरितको काम गरिएको कसैले आँैल्याए सजाय भोग्न तयार रहेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु