एसएलसी प्राविधिकतर्फको नतिजा सार्वजनिक

२०७२ असार १३ गते, आईतवार

काठमाडौं,१३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्राविधिक एसएलसी परीक्षाको नतिजा आइतबार सार्बजनिक गरेको छ । प्राविधिक तर्फको परीक्षा २ जना छात्राको रद्ध गरिएको छ । चार जना ‘विथहेल्ड’मा परेका छन् । तिमध्ये २ छात्रा र २ छात्र छन् । यस्तै २८ छात्र र ८ छात्रा गरी ३६ जना परीक्षामा अनुपस्थित थिए । नतिजा अनुसार अधिकांश विद्यार्थी ‘बी’ ग्रेडमा परेका छन् भने ‘ई’ ग्रेडमा कोही पनि परेका छैनन् । २१५ जना ‘ए प्लस’, ७७९ जना ‘ए’, २ हजार १३१ जना ‘बी’ र १२४ जना ‘सी’ ग्रेडमा परेका छन् ।एकजना ‘डी’ ग्रेडमा परेका छन् भने ‘ई’ ग्रेडमा एकजना पनि नपरेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।प्राविधिक तर्फको परीक्षामा २ हजार १० छात्र र १ हजार २४६ छात्रा गरी जम्मा ३ हजार २५६ विद्यार्थी सहभागी थिए । तिमध्ये १५० छात्र र ६५ छात्रा ‘ए प्लस’मा परेका छन् ।यस्तै ‘ए’ ग्रेडमा ५१७ छात्र र छात्रा २६२ छात्रा छन् । ‘बी’ ग्रेडमा १ हजार २५२ छात्र र ८७९ छात्रा तथा ‘सी’ ग्रेडमा ८८ छात्र र ३६ छात्रा परेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए । ‘डी’ ग्रेडमा १ जना छात्र परेका छन् ।९० देखि १०० प्रतिशतसम्म ल्याउनेलाई ‘ए प्लस’, ८९ देखि ८० प्रतिशत ल्याउनेलाई ‘ए’, ७९ देखि ६० प्रतिशत ल्याउनेलाई ‘बी’ र ५९ देखि ४० प्रतिशत ल्याउनेलाई ‘सी’ ग्रेडमा राखिएको छ । यस्तै ३९ देखि २५ प्रतिशतसम्म अंक ल्याउनेलाई ‘डी’ र २५ भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेडमा राखिएको छ । ‘सी’ वा ‘डी’ ग्रेडमा परेकाहरुले चाहेमा आगामी साउन २० गतेबाट सञ्चालन हुने पूरक परीक्षामा सहभागी हुनसक्ने छन् ।
२०७१ सालको एसएलसी परीक्षाबाट मार्कसिटमा ‘पास’ वा ‘फेल’ नलेखेर ग्रेडिङ प्रणालीमा मूल्यांकन गरिएको हो । मार्कसिटमा पास वा फेल नलेखिए पनि ‘सी’, ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेहरु अनुत्तीर्ण सरह मानिन्छ ।‘हामीले मार्कसिटमा पास-फेल नलेखेको मात्रै हो, तर उनीहरु अनुत्तीर्ण सरह नै हुन्,’ परीक्षा नियन्त्रक द्वारेले भने, ‘माथिल्लो कक्षामा भर्ना लिने की नलिने भन्ने निर्णय कलेजहरुले गर्छन् ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु