एसईई सुरु

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) आजवाट शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन हुने जनाएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।
यस वर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । परीक्षा नियन्त्रक रेग्मीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।
शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खर पुग्ने काम जोकोहीले गरेमा १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । यस वर्ष १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले गे्रड पद्धतिमा नम्बर पाउने छन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म परीक्षा संचालन हुने बोर्डले जनाएको छ । आगामी वर्षदेखि भने प्रदेशस्तरमा एसईई परीक्षा संचालन गर्ने तयारी छ ।

प्रतिक्रियाहरु