एयर एसियालाई नेपाल उडानमा प्रतिबन्ध लगाईने

२०७४ फाल्गुन २० गते, आईतवार

काठमाडौँ, २० फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले ३ दिनभित्र बक्यौता चुक्ता नगरे नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ । बक्यौता वापत २४ करोड रुपैयाँ चुक्ता नगरे नेपाल उडान तत्काल रोक्ने भन्दै मलेसियास्थित मुख्यालयलाई पत्र पठाए पनि बारम्बार ताकेता गर्दा समेत एयर एसियाले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गरेको छ । प्रतिबद्धता अनुसार उसले पुस २३ मा २ करोड र भोलिपल्ट २४ गते थप १० करोड रुपैयाँ चुक्ता गर्ने र बाँकी ११ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्दै जाने भनेको थियो । एयर एसियाले हाल काठमाडौंका लागि सातामा पाँच उडान भर्दै आएको छ । प्राधिकरणले फागुन १९ भित्र एयर एसियाको उडान रोक्न निर्देशन दिए पनि विमानस्थल व्यवस्थापनले थप तीन दिन फागुन २२ गते अन्तिम म्याद दिएको छ । बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै ठूलो परिमाण बराबरको रकम उठाउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रियाहरु