एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्रसहित)

२०७४ फाल्गुन ८ गते, मंगलवार


काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको करिब चार घण्टासम्म चलेको बैठकपछि पार्टी एकताका लागि सात बुँदे सहमतिपत्र हस्ताक्षर भएको हो । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । सहमतिपत्रमा हस्ताक्षर गरेपछि बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुईजना अध्यक्ष रहने गरी एकताको सहमति भएको जनाउदैँ भने ,’नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ’, ‘बैठककको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।’ बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतिका ७ बुँदा पढेर सुनाएका थिए ।
ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु:
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

प्रतिक्रियाहरु