एमाले-माकेको सम्झौताभित्र देशको हित गर्ने कुनै सोँच छैन : आनन्दस्वरुप बर्मा

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौं , २६ मंसिर । भारतीय वाम बुद्धिजीवि आनन्दस्वरुप बर्माले एमाले-माकेको सम्झौताभित्र देशको हित गर्ने कुनै सोँच नभएको ठोकुवा गरेका छन । साथै उनले चुनावपछि बन्‍ने नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बन्न‍े सरकार भारतीय स्वार्थविरुद्ध जान नसक्ने ठोकुवा समेत छन् । चुनावको समग्र परिणाम नअाउँदै एमाले र माकेले सरकार बनाउने निश्चित भएपछि पहिलो पटक एक पत्रिकालाई अन्तरवार्ता दिँदै बर्माले अब बन्‍ने सरकारले पनि साम्राज्यवादी अार्थिक नीति लागु गर्ने भएकाले अपेक्षा गरेअनुसार जनताको जीवनमा परिवर्तन अाउने गरी कुनै काम नहुने बताए ।
बर्माले जनयुद्धलाई अातंककारी देख्ने एमाले र माकेबीचको एकता त्यति सहज नभएको र त्यसलाई फुटाउन भारतले प्रयास गर्ने बताए । उनले
”एमालेले १० वर्षसम्म चलेको जनयुद्धलाई कहिल्यै समर्थन गरेन र सधैं एउटा आतङ्ककारी घटना मान्दै आयो । सामाजिक संरचनामा आमूल परिवर्तन जनयुद्धको माग थियो । त्यसमा एमाले अहिले पनि सकारात्मक छैन । यस्तो अवस्थामा के को आधारमा उनीहरूबीच सम्झौता भयो ? जनताले त्यो कुरा बुझ्न सकेका छैनन् । त्यसका रहस्यहरू खुल्दै जालान् । त्यो सम्झौताभित्र जनता र देशको हित हुने कुनै सोँच छैन” बर्माले भने । उनले एमाले र माकेबीच हुने भनिएको एकता सत्ताको लागि मात्रै भएको बताए ।
बर्माले दक्षिण एशियासहित पूरै विश्वमा फासीवाद उर्लिरहेको बेला एमाले-माकेको गठजोडले दिएको परिणाम सकारात्मक भएको समेत बताए । उनले भने, ”सम्पूर्ण विश्वमा चाहे अमेरिकामा डोनाल्ड ट्रम्प, जापानमा सिङ जावे, जर्मनी, भारतमा मोदी सबैतिर फासिवाद बढ्दै गएको छ । यस्तो अवस्थामा थोरै पनि फासिवाद विरोधी उदारवादी शक्तिहरू देखिन्छन् भने त्यो सकारात्मक पक्ष हो ।”
”वाम एकता, वाम सरकार, नाम, झन्डाको कारण भारतमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको कारण पनि मोदी सरकार पूरै शक्तिको साथ वाम गठबन्धनको विरुद्ध लाग्नेछ । वाम गठबन्धनले दुई तिहाई ल्याएर सरकार बनाएछ भने पनि उनीहरूले साम्राज्यवादी आर्थिक नीतिलाई नै लागू गर्नेछन् । विश्वभर ‘हेर, नेपालमा कम्युनिस्ट सरकार आयो’ यस्तो प्रचार नहोस् भनेर साम्राज्यवाद चनाखो छ । त्यसकारण मैले वाम गठबन्धनलाई समर्थन गरेको छु । यस्तो अवस्थामा वास्तविक क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउँदै फासिवाद विरोधी शक्तिहरूलाई पनि अघि बढ्न दिनुपर्छ” बर्माले अन्तरवार्ताको क्रममा भनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु