एमाले महाधिवेशन अनिश्चित

२०७१ बैशाख ९ गते, मंगलवार


काठमाडौ, ९ बैशाख । राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसक्दा नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ ।
अध्यक्ष झलनाथ खनालले आज बेलुकासम्म प्रतिवदेन तयार पार्ने भन्दै समय माग गर्नुभएको छ । उहाँ प्रतिवेदन लेखनमा व्यस्त रहेको खनालको सचिवालय स्रोतले जानकारी दिएको छ ।हिजो बोलाइएको स्थायी कमिटिको बैठकमा खनालले केही समय माग गरेपछि हिीबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको हो । अध्यक्षले तयार गरेको प्रतिवेदन मस्यौदा कमिटी र स्थायी कमिटीमा छलफल भएपछि मात्रै केन्द्रीय कमिटीमा जानेछ ।
पार्टीले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकामा चैत मसान्तभित्र राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने र वैशाख ५ देखि १० गतेसम्म केन्द्रीय कमिटीमा छलफल गर्न कार्यक्रम थियो। तर, वैशाख ५ गते बैठक बसेको केही समयमै १० गते बिहीबारसम्म स्थगित गरिएको थियो ।
एमालेका केही नेताहरूले तीनै पक्ष अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओली महाधिवेशन पछि सार्ने योजनामा रहेको बताउँछन । ती नेताका अनुसार अहिले ढिला गर्ने र जेठ पहिलो साता महाधिवेशन हुन नसक्ने भनेर घोषणा गर्ने तयारीमा सबै पक्ष लागेका छन् । एमालेले जेठ २४ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरु