एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७१ कार्तिक १४ गते, शुक्रबार


काठमाडौं, १४ कार्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय बल्खुमा अपरान्ह १२ बजे बस्ने बैठकमा पार्टीको स्थायी कमिटी र पोलिटब्युरोको चयन, केन्द्रीय सदस्यको कार्यविभाजन र संविधान लेखनलगायतका एजेन्डामा छलफल हुने सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
पोलिटब्युरो चयनको विषयमा महाधिवेशनको निर्देशन विपरित विधान प्रकाशित गरेको भन्दै माधवकुमार नेपाल पक्षधर संस्थापन पक्षसँग रुष्ट बनेका छन् । महाधिवेशनले पोलिटब्युरो सदस्य बन्न एक कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था हुनुपर्ने भएपनि प्रकाशित विधानमा भने वैकल्पिक केन्द्रीय सदस्य पनि पोलिटब्युरोका लागि योग्य हुने प्रावधान राखेको भन्दै नेपाल पक्षले असहमति जनाएको छ ।
त्यसैगरी, संविधानका विवादित विषय शासकीय स्वरुप, राज्य पुनःसंरचनालगायतका विषयमा पनि पार्टीको अडान र धारणाका विषयमा छलफल हुनेछ । राज्य पुनःसंरचनामा कति प्रदेश रहने र प्रदेशको नामाकरण के हुने भन्ने विषयमा पार्टीको एकमत बनाएर जाने बताइएको छ ।
शासकीय स्वरुपमा विषयमा पार्टीले लिँदै आएको जनताबाट प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रधानमन्त्री छोडेर कांग्रेसले प्रस्ताव गरेको सुधारिएको संसदीय व्यवस्थामा सहमति जनाएको भन्दै एमालेमा विवाद छ ।केन्द्रीय कमिटीले पार्टीको वार्षिक कार्ययोजना पनि निर्माण गर्ने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु