एमालेकाे दम्भ , कांग्रेसकाे समर्थनमा प्रधानमन्त्री प्रचण्ड !

२०७४ मंसिर २९ गते, शुक्रबार

काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै माअाेवादीसँग वाम एकता गर्दै चुनावमा हाेमिएका नेकपा एमालेकाे दम्भ बढेकाे छ । एमाले अध्यक्ष केपी शर्मा अाेली र एमालेका शीर्ष नेताहरूले दिएकाे अभिव्यक्तिबाट एमालेकाे दम्भ बढेकाे प्रशस्त संकेत मिल्छ । निर्वाचनमा जानुपूर्व एमाले-माअाेवादीबीच निर्वाचन लगत्तै पार्टी एकतामा जाने सहमति थियाे । निर्वाचनकाे मतपरिणाम गठबन्धनकाे पक्षमा अाएसँगै एमालेले कार्यकारी पद अाफैँले लिन पाए मात्रै एकता हुने अडान सार्वजनिक रूपमा राख्न थालेपछि एकता प्रक्रियामा असर पुगेकाे माअाेवादी नेताहरू नै बताउँछन् ।
हालै एक सञ्चारमाध्यममा एमाले अध्यक्ष केपी शर्मा अाेलीले दिएकाे सार्वजनिक अभिव्यक्तिकाे क्रममा पनि माअाेवादीलार्इ अध्यक्ष जिम्मा लगाउनकै लागि पार्टी एकता हुन नसक्ने बताएका छन् । ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने दावी गरेका छन । उनले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने समेत बताएका छन् । एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? भन्ने प्रश्नमा ओलीले भने- ‘ हाम्रो बिचमा त्यस्ताे समझदारी भएको पनि छैन, त्यस्तो हुन पनि सक्दैन ।’ पार्टीको नेतृत्वकर्ता नै प्रधानमन्त्री हुने ओलीको भनाई छ । अध्यक्ष र प्रधानमन्त्रीको सवालमा १/२ जनाले भन्दैमा मात्रै निर्णय गर्न नसकिने ओलीको भनाई छ । ‘अहिले त्यस विषयमा चर्चा गर्नु पनि बान्छनीय हुदैन ।’ उनले भने-‘पार्टी एकता भएपछि सबै हकदार हुन्छन् । पार्टी एकता हुनुभन्दा अगाडी नै त्यो कुरा गर्योा भने त्यसले समस्या पैदा गर्छ ।’
उनले यो विषयमा अहिले चर्चा नहुने प्रष्ट पारेका छन् । ‘अध्यक्ष हुनका लागि त म छदैछु, किन पार्टी एकता गर्नुपर्योत ? उनले अगाडि थपे – ‘प्रचण्ड जी पनि अध्यक्ष हुँदै हुनुहुन्छ नि किन एकता गर्नुपर्योए ? अध्यक्ष नै चाहिया भए त उहाँ पनि अहिले नै अध्यक्ष हुनुहुन्छ ।’ आफूहरुले अध्यक्ष भन्दा पनि युनिटी खोजेको उनको भनाई छ । ‘अध्यक्ष होइन एकताबद्ध ढंगले देश अगाडि बढाउने कुरा खोजेको हो, अध्यक्ष खोजेको होइन ।’ उनले भने- ‘ मिलेर देशलाई अगाडी बढाउने कुरो खोजेको हो । जे आवस्यकता पर्छ त्यो हामि पारस्परिक छलफलबाट गर्छौं । अहिले त्यस सम्बन्धमा कुनै छलफल भएको छैन ।’ पार्टी अध्यक्षको प्रश्न महाधिवेशन वा एकीकरणमा मात्र आउने भन्दै ओलीले अहिले सरकार गठनको क्रममा पार्टी अध्यक्षको प्रश्न सान्दर्भिक नै नहुने उनको भनाई छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखजस्ता पदहरु पार्टीको अध्यक्षसँग नजोडिने उनले प्रष्ट पारेका छन् ।
त्यसैगरी एमाले महासचिव इश्वर पाेखरेलले पनि एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै एकतापछि बन्ने पार्टी अध्यक्ष, संसदीय दलकाे नेता र प्रधानमन्त्री केपी अाेली नै हुने दावी गरेका छन् । महासचिव पाेखरेलले पार्टी एकता भएपछि पार्टीकाे अध्यक्ष, संसदीय दलकाे नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने र अध्यक्ष एउटा, प्रधानमन्त्री एउटा, संसदीय दलकाे नेता फरक-फरक व्यक्ति हुन् नसक्ने ठोकुवा गरे । सबैलार्इ पद विभाजित गरेर एकीकृत पार्टीमा बहुकेन्द्र निर्माण हुने नसक्ने बताउँदै उनले प्रधानमन्त्री नै पार्टीकाे अध्यक्ष र संसदीय दलकाे नेता हुने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा अाेली बन्नेमा अाशंका नगर्न अाग्रह समेत गरे । पत्रकारले थप जिज्ञासा राखेपछि उनले प्रधानमन्त्री केपी अाेली बन्ने भएपछि स्वभाविक रूपमा अध्यक्ष र संसदीय दलकाे नेता पनि उनी नै हुने प्रष्ट पारेका छन्।
यसरी एमाले अध्यक्ष अाेली र महासचिव पाेखरेलकाे भनाइबाट नै निर्वाचन मतपरिणामले एमालेकाे दम्भ बढेकाे प्रष्ट हुन्छ । त्यसाे त एमाले नेताकाे सार्वजनिक अभिव्यक्तिपछि माअाेवादी नेता नारायणकाजी श्रेष्ठले संयम भएर बस्न र विवादित कुनै विषय भए छलफलबाटै निष्कर्षमा पुग्नुपर्ने धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत राखिसकेका छन् । माअाेवादीका अन्य नेताहरूले पनि एमालेकाे दम्भ कायमै रहेकाे खण्डमा पार्टी एकतामा जान नहुने भन्दै पार्टी अध्यक्ष प्रचण्डलार्इ दबाब दिइरहेका छन् ।
यसरी, एमाले अध्यक्ष अाेली र महासचिव पाेखरेलले भनेजस्तै पार्टी एकतापछि अध्यक्ष,प्रधानमन्त्री वा संसदीय दलकाे नेता एउटै व्यक्ति हुने हाे भने एकताकाे सम्भावना टर्दै जाने देखिन्छ । किनकी माअाेवादीका शीर्ष नेताहरू एमालेसँग दम्भ कायमै रहेसम्म एकतामा जाने पक्षमा छैनन्।
त्यस्ताे अवस्थामा नेपाली कांग्रेस र मधेसवादी दलकाे समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने विकल्प पनि देखिन्छ । यद्यपी माअाेवादीले अहिले प्रचण्डलार्इ प्रधानमन्त्रीकाे रूपमा अगाडि सार्ने पक्षमा छैनन् । उनीहरू जनताले वाम गठबन्धनकै सरकार बनाेस् भन्ने अपेक्षासहित मतदान गरेकाेले त्यसलार्इ कार्यान्वयन गर्ने पक्षमा छन् । तर एमालेले सबै कार्यकारी पद अाफूतिरै राखेर माअाेवादी पार्टी एमालेमै विलय गराउने रणनीति राखेमा प्रचण्ड कांग्रेस लगायतका दलकाे समर्थनमा नयाँ प्रधानमन्त्री बन्ने सम्भावना पनि छ ।

प्रतिक्रियाहरु