एमाओवादीलाई सेनाको सहयोग

२०७१ बैशाख ६ गते, शनिबार


काठमाडौं ,६ बैशाख।एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले नेपाली सेनालाई हेलिकप्टर प्रयोग गरेबापत तिर्नुपर्ने ६७ लाखभन्दा बढी भाडा सेनाले मापदण्डबिनै छुट दिएको खुलासा भएको छ ।एमाओवादीले हेलिकप्टर चढेबापत बुझाउनुपर्ने ६७ लाख १४ हजार रुपैयाँ ड्राई भाडा (इन्धनबाहेकको शुल्क) मा सेनाले छुट दिएको हो ।राष्ट्रपति रामवरण यादवसमक्ष गत चैत २८ मा पेस गरिएको महालेखा परीक्षकको एकाउन्नौं वार्षिक प्रतिवेदनमा सेनाले आथिर्क अनुशासन उल्लंघन गरेका दर्जनौं उदाहरण छन् । तीमध्ये एमाओवादीलाई भाडा छुटको विषय पनि हो ।‘दुई संस्थालाई १० लाख ७५ हजार र एक राजनीतिक दललाई ६७ लाख १४ हजार गरी ७७ लाख ८९ हजार ड्राई भाडा छुट दिइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘भाडा छुट दिनेसम्बन्धमा निश्चित मापदण्ड स्वीकृत गरी लागू गर्नुपर्दछ ।’
महालेखा परीक्षक कार्यालयका प्रवक्ता बाबुराम गौतमका अनुसार प्रतिवेदनमा उल्लेख ‘एक राजनीतिक दल’ भनेको एमाओवादी हो । प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा एमाओवादी नेताले चढेको हेलिकप्टरको भाडामा छुट दिइएको हो ।सेनाको व्यापारिक उडान विकास समितिले २०६७ वैशाख ६ गतेको निर्णयमा ड्राई भाडा दरमा सरकारी कार्यालयलाई १० र दर्तावाल संघ, संस्थालाई ७ प्रतिशतमात्र छुट दिन सकिने उल्लेख छ । तर सेनाले एमाओवादीलाई इन्धनबाहेकको सम्पूर्ण भाडामा छुट दिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु