एमसिसि सम्झौताबिरुद्धको संघर्ष पेचिलो बन्दै

२०७६ पुष २७ गते, आईतवार

काठमाडौं , २७ पुष । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसि)बिरुद्ध संघर्ष थप पेचिलो बन्दै गएको छ । यसै क्रममा शनिबार एमसिसि सम्झौता खारेज अभियान, नेपालद्वारा आयोजित ’नेपालको सन्दर्भमा एमसिसिको औचित्य’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने राष्ट्रिय पुनर्जागरण अभियान नेपालले अमेरिकाको एमसिसि रणनीति पृष्ठभुमि, प्रक्रिया , सर्त र रणनीतिक प्रयोजन नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुवै कार्यक्रमका वक्ताहरुले एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै अमेरिकाले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन खोजेकोले सबै नेपाली सजग हुने बेला आएको बताएका छन् । उनीहरुले अमेरिकाले घुमाउरो पारामा नेपाललाई आफ्नो सैनिक र व्यापारिक अखडा बनाउन खोजेको भन्दै राष्ट्रियताको विषयमा तेरो र मेरो, यो पार्टी ऊ पार्टी नभनिकन सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताएका थिए । उक्त अन्तरक्रिया कार्यक्रमहरुमा बिभिन्न राजनीतिक दलका नेतालगायत सत्तापक्ष दलका नेता , बुद्दुजीबी र नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।
केहि समय अघि नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको थियो । सो पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले उक्त सम्झौतामा नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न सबैलाई आह्वान समेत गरेका थिए । प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ( ‘अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको भन्दै त्यो सङ्कट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको बताएका थिए । प्रवक्ता प्रकाण्डले अमेरिकाले नेपाललाई मोटो रकमको गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र राजनीतिक र सामरिक दुवै दृष्टिले नेपालका निम्ति खतरनाक भएकाले सदन र सडक सबैतिरबाट सम्झौताका विरुद्ध सबै राजनीतिक पार्टी, लोकतान्त्रिक शक्तिहरू, बुद्धिजीवी, नागरिक समाज, देशभक्त र क्रान्तिकारी शक्तिहरूसमक्ष अपिल पनि गरेका थिए । विज्ञप्तिमार्फत प्रकाण्डले नेपालमा सैन्य अखडा कायम गराउन ढोका खोलिदिने राष्ट्रघाती, देशद्रोही दलाल प्रवृत्तिका विरुद्ध आआफ्नो स्थानबाट प्रभावकारी प्रतिरोध गर्नसमेत सबैसँग अपिल गरेका थिए ।

प्रतिक्रियाहरु