एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं , २८ कार्तिक । सूचना तथा सञ्चार मन्त्रालयले आजदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने बताए ।
केवल टेलिभिजन महासंघमा आवद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ । महानगरपालिकामा गएको वैसाख १५, उपहानगरपालिकामा र नगरपालिकामा यही कात्तिक १५ तथा गाउँपालिकालाई आउने वैशाख १५ सम्मको समयसीमा दिइएको छ । गाउँपालिका बाहेक सबैको सीमा सकिएको छ ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा गुर्नपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो । सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरूलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु