एनालग केबल टीभी बन्द

२०७४ कार्तिक २९ गते, बुधबार

काठमाडौं, २९ कात्तिक । सूचना तथा सन्चार मन्त्रालयले बुधबार (आज)देखि काठमाडौं उपत्यकाभित्र एनालग प्रविधिबाट सन्चालन हुँदै आएका केबल टीभीको सिग्नल बन्द गरेको छ । सन्चार मन्त्रालयअन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन शाखाले एनालग प्रविधि बन्द गराएको हो । जसका कारण उपत्यकाका अधिकांश उपभोक्ताहरु टीभी हेर्नबाट बन्चित भएका छन् । फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपालको टोलीले केबल सन्चालन स्टेसनहरुको अनुगमन गरी एनलग प्रविधिको सिग्नल बन्द गरेको हो ।
केबल टीभी महासंघ र केबल टीभी व्यवसायी महासंघकै अनुरोधमा देशभर सन्चालनमा रहेका एनालग केबल टेलिभिजनलाई डिजिटलमा लैजान लागिएको सन्चार मन्त्रालयको भनाइ छ । डिजिटल प्रविधिबाट प्रयोगकर्ताको संख्या थाहा हुने र त्यसबाट राजश्व पनि पारदर्शी हुने सरकारको दाबी रहेको छ । सरकारी निकायले सबै केबल अपरेटहरुलाई अनिवार्यरुपमा बुधबारदेखि डिजिटल सेवा प्रदान गर्न बाध्य बनाएको केबल सन्चालकहरुले बताएका छन् । डिजिटल टेलिभिजन हेर्न भने ग्राहकले २ देखि ३ हजार रुपैयाँ खर्च गरेर डिजिटल सेटअप बक्स जडन गर्नुपर्नेछ । तत्कालका लागि १५ लाख बक्स आवश्यक पर्ने भएपनि सरकारले ५ लाखमात्र उपलब्ध गराएको केबल सन्चालकहरुको दाबी छ ।
सरकारले अन्तर्राष्ट्रिय मापदन्ड लागू गर्न लागेको तर्क गरेपनि यसको सोझो असर भने सर्वसाधारण उपभोक्तामा पर्ने देखिएको छ । उपभोक्ताले एकैपटक सेटअप बक्स खरिद गर्नुपर्ने हुँदा करोडौं रुपैयाँसमेत खर्च हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु