एनसेल अवैध कल बाइपासमा संलग्न !

२०७५ असार २१ गते, बिहीबार

काठमाडौं, २१ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईवी) ले अवैध रूपमा सञ्चालित भिओआइपी र जिओआईपी उपकरणमार्फत कल बाइबास गर्ने स्थानमा छापा मार्न थालेपछि एनसेल अनुसन्धानमा तानिएको छ । सिआइबीले कल बाइबास गरेर राजस्व छली गर्ने त्यस्ता अखडामा छापा मार्दा ठूलो मात्रामा एनसेलका सिम बरामद भएपछि एनसेलको संलग्नता बाहिर आएको हो ।
विदेशबाट भित्रिने अन्तर्राष्ट्रिय कल अवैध रूपमा बाइपास हुँदा सरकारलाई वार्षिक दश अर्व भन्दा बढि राजश्व घाटा भइरहेको छ । तर, त्यसको नियन्त्रण गर्नतर्फ नेपाल दूरसञ्चार प्राधिकरण र सिआईवीले सोचेजस्तो काम गर्न सकेका छैनन् । कल वाइपासमा संलग्न झिनामसिना गिरोहलाई पक्राउ गरी कारबाही गर्ने बाहेक ठूलो गिरोहलाई सिआईवीले पक्राउ गर्न सकेको छैन । अवैध भिओआइपी सञ्चालनमा मोबाइल सेवाप्रदायक कम्पनीमा कार्यरत कर्मचारीकै मिलेमतो हुने विगतका घटनाले पुष्टि गरिसकेको छ । गत वर्ष भिओाईपीमार्फत कल वाइपासमा संलग्न केही कर्मचारीहरुलाई एनसेलले कम्पनी नै फस्ने डरले निकालेको थियो ।
सिआइबीले अहिलेसम्म बरामद गरेका विभिन्न कम्पनीका २२ हजार ८ सय ३५ सिमकार्डमध्ये झण्डै १५ हजार सिमकार्ड एनसेलको रहेको सिआईवी स्रोत बताउँछ ।
गत असार १८ गते भिओआईपीमार्फत अन्तर्राष्ट्रिय कल भित्र्याई राजश्व छलिमा संलग्न भारतीय नागरिक जफर खानलाई पक्राउ गर्दा सिआईबीले उनको साथबाट एनसेलका १२० थान सिम बरामद् गरेको थियो । सिआईबीले उनको साथबाट सिमका अलवा जिओआईपी गेटवे मेसिन र एनसेल कम्पनीका सिम निकाल्ने फारम पनि बरामद गरेको थियो । यसले पनि के देखाउँछ भने भिओआईपी र जिओआईपी प्रविधिमार्फत हुने अवैध कल बाइपासमा एनसेल प्रयोग भइरहेको छ । सिआईवीले अहिलेसम्म अवैध भिओआईपी मार्फत कल वाइपास गर्ने १२६ जना नेपाली र ३४ जना विदेशी गरी १६० जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध ११ अर्व ९० करोड ३८ लाख लाख विगो मागदावी गर्दै अदालतमा मुद्दा दायर भएको सिआईवीको रेकर्डबाट खुल्न आएको छ ।
एनसेलले मुलुकभर सबैभन्दा बढी ग्राहक रहेको दाबी गरिरहेका बेला कल बाइपासमा एनसेलका सिमकार्ड बढि प्रयोग भएको खुल्दा समेत सिआईबीले एनसेल विरुद्ध कुनै कारबाही गर्न सकेको छैन । एनसेलको २० प्रतिशत लगानीकर्ता सतिशलाल आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई हातमा लिएर ६५ अर्ब ४० करोड पुँजीगत लाभकर तिर्न अटेर गरिरहेका छन् । कर छलीका मुख्य योजनाकार सतिशलाल र सचिनलाल आचार्यले सांसददेखि उच्च प्रशासकहरूलाई करोडौंको प्रलोभनमा पारेर लाभकर तिर्नबाट एनसेललाई रोक्दै आएका छन् ।
एनसेलको मुख्य लगानीकर्ता एक्जिएटाको व्यवस्थापन हेर्ने सतिशलालको समूह रसियन भाइजरको पुरानो समूहसँग मिलेर कल बाइपासमा संलग्न रहेको एनसेल स्रोत दावी गर्छ । एनसेलले प्रविधि हस्तान्तरण ऐन अन्तर्गत रहेर रसियन र अजरबैजानका ह्याकर तथा भिओआईपी गिरोहलाई नेपाल भित्र्याई गैरकानुनी काम गर्दै आइरहेको समेत बाहिर आएको छ ।
विदेशी प्राविधिक भित्र्याउने नाममा ६ महिनासम्म विना श्रम स्वीकृति काम गर्न लगाई एनसेलका केही उच्च कर्मचारीले एक्जिएटासँग मिलेर कल बाइपासको काम गर्दै आइरहेको स्रोतको दावी छ । आचार्यको समूहले छोटो समयमा अकुत सम्पत्ति कमाउनुलाई पनि उनीहरु कल बाइपासमा संलग्न रहेको आधार देखिने एनसेलका एक उच्च कर्मचारी बताउँछन् ।
सतिशलाललाई प्रहरी देखि नेता र अदालतसम्म सेटिङ मिलाउने दलाल हुन् दीपक तिमिल्सिना । कुनै समय गैर आवासिय नेपाली उपेन्द्र महतोका कर्मचारी रहेका तिमिल्सिनाले नै सर्वोच्च अदालतमा सेटिङ मिलाई एनसेललाई ६५ अर्व लाभकर तिर्नबाट रोकाएका हुन् ।

प्रतिक्रियाहरु