एनसेलको फैसला उल्ट्याउने न्यायाधीशलाई महाअभियोग लगाउन माग

२०७६ भाद्र २४ गते, मंगलवार

काठमाडौं, २४ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुका साथै संसदले सो आदेशको छानबिन गर्नुपर्ने माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका हुन् । उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको आदेश क्षेत्राधिकार बाहिरको भएको जिकिरसमेत गरे ।
बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद मोहन बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको आरोप लगाए । सत्तारुढ दलकै अर्का सांसद यज्ञराज सुनुवारले अदालतको फैसलाले एनसेल, यसका सन्चालकलाईमात्र नभइ फैसला गर्ने र वरपरका लागि पनि फाइदा पुगेको भन्दै संसदले आदेशको सम्बन्धमा गम्भीर छानबिन प्रक्रिया अगाडि बढाउन माग गरे । नेकपाकै सांसद खगराज अधिकारीले एनसेलको लाभकर कुनैपनि अवस्थामा असुली हुनुपर्ने धारणा राखे ।
यसअघि, आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले महाअभियोग लगाउन माग गरेका थिए ।

प्रतिक्रियाहरु