एनआरएन मकाउद्वारा भूकम्प पीडितका लागि ४० लाख सहयोग

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाण्डौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउले नेपालका भूकम्प पीडितका लागि राहतस्वरुप ४० लाख रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय समन्वय समिति मकाउले आफ्ना सदस्यमार्फत संकलन गरेको सो रकम गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिलाई हस्तान्तरण गरेको हो ।
शुक्रबार काठमाण्डौंमा आयोजित कार्यक्रममा एनआरएन मकाउका अध्यक्ष सुदर्शन थापाले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेलाई सो रकम हस्तान्तरण गरे ।
गैरआवासीय नेपाली संघको आह्वानमा संसारभरका गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समितिले रकम संकलन गरी एनआरएन आईसीसीलाई पठाइरहेका छन् ।
गैरआवासीय नेपाली संघको संजालमा आबद्ध बिभिन्न देशमा रहेका नेपाली सामुदायिक संस्थाहरुले समेत गैरआवासीय नेपाली संघमार्फत् नै भूकम्पपिडीतलाई सहयोग गर्न रकम हस्तान्तरण गरिरहेका छन् ।
कार्यक्रममा एनआरएन अध्यक्ष शेष घलेले मातृभूमीका दाजुभाई दिदीबहिनी दुःखमा परेका बेला मकाउमा सानो संख्यामा रहेका नेपालीहरुले आफ्नो गास काटेर यति ठूलो रकम जम्मा गर्न सफल भएको भन्दै यो अभियानमा संलग्न सवैप्रति आभार प्रकट गरेको -गैरआवासीय नेपाली संघको सचिवालय काठमाण्डौंले जनाएको छ ।

प्रतिक्रियाहरु