एटिएमबाट निकाल्ने रकमको सीमा घटायो

२०७६ भाद्र २० गते, शुक्रबार

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरहरुको समूहले एटिएमको सिस्टम ह्याक गरेपछि एटिएमबाट निकालिने रकमको सीमा घटाएको हो । चिनियाँ ह्याकरहरुको समूहले नक्कली भिसा कार्ड प्रयोग गरेर तीनवटा भन्दा बढी बैंकहरूको एटीएम प्रयाेग गरी करोडौँ चोर्न सफल भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै एटिएमबाट निकालिने रकमको सीमा घटाएको जनाएको छ । अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले जारी गर्नुभएकाे निर्देशनमा उल्लेख छ ।
यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो। बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने निर्देशनमा उल्लेख छ । साताअघि चिनियाँ ह्याकरहरुको समूहले प्रभु र एनआईसी एसियासहितका बैंकको सिस्टम र भिसा कार्डको स्वीच नै ह्याक गरेर करोडौं रुपैयाँमा निकालेका थिए। तर समयमै सूचना पाएपछि प्रहरीले चिनियाँ ह्यकरहरुको समूहलाई पक्राउ गर्न सफल भएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार