एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

२०७४ कार्तिक ११ गते, शनिबार

काठमाडौं, ११ कात्तिक । इटलीका एक व्यक्तिलाई ३० जना महिलामा एचआइभी संक्रमण फैलाएको आरोपमा २४ वर्षको जेल सजाय सुनाइएको छ । ३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको हो । एकाउन्टेन्ट रहेका तालुतो सन् २००६ देखि एचआइभी संक्रमित भएका हुन् । त्यसयता उनले ५३ जना महिलासँग यौन सम्बन्ध कायम गरेका थिए । यसमध्ये एक महिलाको उमेर तालुतोले यौन सम्बन्ध सुरु गर्दा १४ वर्षको थियो ।
तालुतोले यौन सम्बन्धका बेला कण्डम प्रयोग गर्न भन्दा आफूलाई कण्डमको एलर्जी भएको वा केही समयअघि मात्रै एचआइभी परीक्षण गरेको बताउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिलाले आफूमा एचआइभी संक्रमण भएको थाहा पाएपछि तालुतोसँग सोध्दा उनले आफू एचआइभी संक्रमित रहेको कुरा अस्वीकार गर्ने गरेका थिए । तालुतो यौन सम्बन्धका लागि महिलाको खोजीका लागि सामाजिक सञ्जाल तथा डेटिङ साइटमा ‘हार्टी स्टाइल’ नाम प्रयोग गर्ने गरेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु