एक तिहाइ नेपाली इन्टरनेट प्रयोगकर्ता

२०७१ बैशाख ६ गते, शनिबार


काठमाडौ, -दुई वर्षमा इन्टरनेट प्रयोगकर्ताको संख्या दोब्बर भएको छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत माघमा मुलुकको ३० दशमलव ७ प्रतिशत जनसंख्याले इन्टरनेट चलाउन थालेका छन् । यसले इन्टरनेटको पहुँच ८१ लाख ४६ हजारभन्दा बढीमा पुगेको देखाउँछ ।०६८ माघ महिनामा कुल जनसंख्याको १५ दशमलव ७५ प्रतिशत (४१ लाख ८९ हजार जना) इन्टरनेट प्रयोगकर्ता थिए । दुई वर्षमा करिब १५ प्रतिशत बिन्दुले बढेको हो । मोबाइल सेवा प्रदायकको इन्टरनेट चलाउनेसँगै छुट्टै कम्पनीबाट सेवा लिनेको संख्या पनि दुई वर्षमा दोब्बर भएको छ । यही अवधिमा मोबाइल सेवाको पहुँच ५२ प्रतिशतबाट बढेर ७६ दशमलव ८ प्रतिशतमा पुगेको छ । इन्टरनेट सेवा उपभोक्तामा सबैभन्दा धेरै जीपीआरएस, एज र डब्लूसीडीएमए प्रविधिबाट चलाउने छन् । यी प्रविधिबाट मोबाइल सेवा प्रदायकले इन्टरनेट उपलब्ध गराउँदै आएका छन् । दुई ठूला दूरसञ्चार कम्पनी एनसेल र नेपाल टेलिकमको तीव्र प्रतिस्पर्धा र इन्टरनेट सेवामा घट्दै गएको शुल्कका कारण उपभोक्ता दुई वर्षमै दोब्बर भएका हुन् । प्राधिकरणका अनुसार ७६ लाखभन्दा बढीले मोबाइलबाटै इन्टरनेट चलाइरहेका छन् । दुई वर्षअघि ३८ लाखले जीपीआरएस सेवा लिएका थिए ।
सीडीएमए प्रविधिबाट इन्टरनेट चलाउनेको संख्या २ लाख ३५ हजार छ । यो प्रविधिबाट टेलिकम र यूटीएलले इन्टरनेट उपलब्ध गराइरहेका छन् । त्यसपछि टेलिकमको एडीएसएल सेवा लिने १ लाख १९ हजार छन् । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीबाट वायरलेस मोडेम, अप्टिकल फाइबरलगायत माध्यममा इन्टरनेट चलाउने ६३ हजार छन् । दुई वर्षको अवधिमा इन्टरनेट सेवा प्रदायकका ग्राहक पनि दोब्बर भएका छन् । इन्टरनेट सेवा प्रदायककै केबल मोडम प्रयोग गर्ने २४ हजारको हाराहारी रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ । डायलअपबाट इन्टरनेट चलाउने पनि १४ हजारभन्दा बढी देखिन्छन् । जसमा टेलिकम र इन्टरनेट सेवा प्रदायकको उपस्थिति छ ।यी तथ्यांक सम्बन्धित कम्पनीले दूरसञ्चार प्राधिरकणलाई बुझाएको आधारमा बनाएको हो । त्यसैले एक पटक सेवा खरिद गरेर छाड्नेको संख्या तथ्यांकमा सामेल भए/नभएको स्पष्ट छैन ।
‘हातहातमा मोबाइल पुगेपछि त्यसले इन्टरनेट प्रयोगकर्ता पनि बढाएको हो,’ दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, ‘सस्तिएको सेवासँगै सामाजिक सञ्जाल चलाउने बानी बढेपछि थ्रीजीलगायत सेवामा उपभोक्ता बढेका छन् ।’ थ्रीजी सेवालाई एनसेल र नेपाल टेलिकमले विस्तार गर्दै आएका छन् ।
अर्कोतर्फ इन्टरनेट सेवा प्रदायक कम्पनीका उपभोक्ता पनि उत्तिकै बढेका छन् । सेवाको माग व्यापक बढेको र सबै क्षेत्रमा आवश्यकताअनुसार उपलब्ध गराउन पनि असहज भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईएसपीएएनका अध्यक्ष विनय बोहोरा बताउँछन् । ‘घरमा चलाउन इन्टरनेट चलाउने प्रयोगकर्ता धेरै बढेका छन्,’ उनले भने, ‘यसले कनेक्टेड इन्प|mास्ट्रक्चरको वृद्धि धेरै भएको छ ।’ तारबाट उपलब्ध हुने इन्टरनेटको सेवा विस्तार पनि त्यहीअनुरूप हुँदै गएको उनले बताए । ‘पोखरा, विराटनगर, भैरहवा, बुटवललगायत सहरी क्षेत्रमा माग बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले सेवा प्रदायक कम्पनीले पछिल्ला दुई वर्षदेखि पूर्वाधारमा लगानी पनि व्यापक बढाएका छन् ।’ आगामी दिनमा थपिएको पूर्वाधारका कारण प्रयोगकर्ताको संख्या अझ बढ्ने उनले बताए ।
दूरसञ्चार प्राधिकरणको तथ्यांकमा मोबाइल सेवा उपलब्ध गराउने नेपाल टेलिकम, एनसेल र यूटीएलले इन्टरनेट सेवा पनि उपलब्ध गराइरहेका छन् । इन्टरनेट सेवाका लागि मात्रै भनेर ४३ वटा कम्पनी सञ्चालनमा छन् । ग्रामीण इन्टरनेट सेवा प्रदायकको संख्या ४ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार