एकै व्यक्तिसँग १३ वटा बन्दुक !

२०७२ आश्विन १७ गते, आईतवार

काठमाडौं, १७ असोज । अमेरिकाको ओरेगन राज्यस्थित एक क्याम्पसमा गोली हानी ९ जनाको हत्या गर्ने ब्यक्तिसंग १३ वटा बन्दुक भएको खुलासा भएको छ । सन् २००८ मा सेनामा भर्ती भएका उनलाई एक महिनामा नै बर्खास्त गरिएको थियो । उनले घटना अघि सामाजिक सञ्जालमार्फत केही ब्यक्तिको हत्या गर्ने आफनो मनसाय भएको समेत उल्लेख गरेको खुलेको छ ।
इसाई विरोधी उनले इसाइलाई नै निशाना बनाएको हुनसक्ने आशंका सहकर्मीहरुको छ । गत शुक्रबार ओरेगन राज्यको ग्रामीण क्षेत्रमा रहेको अम्पक्वा सामुदायिक क्याम्पसमा २६ बर्षिय युवकले कलेजको कक्षाकोठामै प्रवेश गरी ९ जनाको हत्या गरेको थियो ।
यसका साथै अन्धाधुन्ध गोली चलाउँदा अरु २० जनाभन्दा बढी घाइते भएका थिए । घटनामा प्रहरीले जवाफी कारवाही गर्दा उनीपनि मारिएका थिए । घटना लगत्तै प्रहरीले कलेजलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिद्यालयमा भएको गोलीकाण्डप्रति चिन्ता ब्यक्त गरेका छन् । यसअघि ओबामाले अमेरिकामा निजी हतियारमाथिको कडाइका लागी पटकपटक पहल गरे पनि बिपक्षीले त्यसलाई अस्विकार गरेका थिए ।
पछिल्लो घटनाप्रति लक्षित गर्दै राष्ट्रपति ओबामाले संसारमा आफ्नो देश मात्र सधैंभरी मानसिक रुपमा रोगी र अरुबाट पाउने असर भोग्न बाध्य नहुने बताए ।
साना हतियारको प्रयोगले केही महिनाको अन्तरालमा फेरि ठूलो जमातले पीडा भोग्ने स्थिति दोहोरिएको भन्दै ओबामाले अब यस्तो स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए ।- एजेन्सी

प्रतिक्रियाहरु