एकैदिन दुई लाख भन्दा बढी ब्यक्तिमा कोरोना संक्रमण !

२०७७ असार १९ गते, शुक्रबार

काठमाडौं , १९ असार । गत २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । एकैदिन विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । कोरोना भाइरसका कारण अमेरिकामा चौबिस घण्टामा ५६ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ४ सय ८० पुगेको छ । २८ लाख ३६ हजार ८ सय २८ जना संक्रमित छन् । ब्राजिलमा ४७ हजार ९ सय ४८ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या ६१ हजार ९ सय ९० पुगेको छ । १५ लाख १ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा ६ हजार ७ सय ६० जना नयाँ संक्रमित थपिएका छन् ।
रुसमा अहिलेसम्म कोरोनाका कारण ९ हजार ६ सय ८३ जनाको ज्यान गएको छ । ६ लाख ६१ हजार १ सय ६५ जना संक्रमित छन् । भारतमा २१ हजार ९ सय ४८ जना नयाँ संक्रमित थपिएका छन । एकैदिन ३ सय ७७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ हजार २ सय २५ पुगेको छ भने संक्रमितको संख्या ६ लाख २७ हजार १ सय ६८ रहेको छ । एकैदिन मेक्सिकोमा सात सय ४१, पेरुमा एक सय ८५, चिलीमा एक सय ६७, इरानामा एक सय ४८, कोलम्बियामा एक सय ७१, इराकमा एक सय १० जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार दुई सय ३२ पुगेको छ । संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु