‘एकीकृत जनक्रान्तिबिना दलित मुक्ति असम्भव’

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौँ, ३ बैशाख । वर्गीय मुक्तिबीना जातीय मुक्ति सम्भव नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्तिमोर्चाद्वारा सोमबार संवाद डबलीमा अायोजित ‘वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । नेकपाका पोलिट्ब्युरो सदस्य पदम राइले आर्थिक, सामाजिक तथा साँस्कृतिक हिसाबले उत्पीडित दलितहरुलाई व्यक्तिले होइन व्यवस्थाले हेपेको भन्दै वर्गीय मुक्ति भएपछि मात्र उत्पीडित जातीको मुक्ति सम्भव हुने बताए । दलित मुक्तिबारे जनयुद्धले प्राप्त गरेको उपलब्धीको रक्षा हुन नसकेको बताउँदै राईले अब एकीकृत जनक्रान्तिले बाँकी कार्यभार पूरा गर्ने बताए । उनले सबै उत्पीडित वर्गलाई एकीकृत जनक्रान्तिमा लाग्न अाह्वान समेत गरे ।
दलित आन्दोलनका अगुवा तथा माओवादी नेता विश्वभक्त दुलाल ‘आहुती’ले जनयुद्धमा बलिदानी समानुपातिक हुने तर अधिकारमा चाहीँ दलितलाई किन पछाडी पारेको ? भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वमा दलित समुदायको पनि समान सहभागिता हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
त्यस्तै अधिवक्ता एकराज भन्डारीले दलित अधिकारकोबारेमा राजाको शासनमा पनि राम्रै लेखिएको तर व्यवहारमा लागु नभएको कारण अर्को क्रान्तिको आवस्यकता परेको धारणा राखे ।
डा. निर्मल विश्कर्माले विभेदकारी सामाजिक व्यवस्था रहेसम्म दलित समुदायको मुक्ति नहुने भन्दै आन्दोलनमा समानुपातिकको कुरा उठेपनि संविधानमा समुदायको अधिकार खोसिएको बताए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव धिरेन्द्र उपाध्यायले नेपालको नेतृत्व आदर्शबादको पिछलग्गु भएको कारण दलित र महिला समुदाय छुवाछुत र बलात्कारको सिकार भएको बताईन् ।
दलित विकास समितिका अध्यक्ष बुद्धि नेपालीले कम्युनिष्ट पार्टीको हरेक कमिटीमा दलित समुदायको समानुपातिक नेतृत्व हुनुपर्ने धारणा राखे । संयुक्त राष्ट्रिय दलित आन्दोलन संयोजन समितिका संयोजक टिकाराम दियालीले केही थान दलित मन्त्री र सांसद बन्दैमा सम्पूर्ण दलितको मुक्ति नहुने भन्दै भावी पिढीलाई मुक्ति दिनको लागि हामी अहिलेबाटै संघर्षमा लाग्नु पर्ने धारणा राखे ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष राम नेपालीले माओवादी आन्दोलनका मुख्य नेतृत्वले क्रान्तिलाई धोका दिएपनि दोश्रो पुस्ताको नेतृत्वले यसको निरन्तरता दिनु पर्ने विचार व्यक्त गरे ।
दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपालीले जनयुद्धले दलितलाई दिएको उपलब्धी संस्थागत नभएकाले फेरि अन्दोलन गर्न परेको धारणा राखे । कार्यक्रममा नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष डम्बरबहादुर नेपालीले कार्यपत्र प्रस्तुत गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु