एकीकृत क्रान्तिमा जान्छौ:माओवादी

२०७१ कार्तिक २९ गते, शनिबार


काठमाडौँ ।नेकपा – माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले मंसिर महिनाभित्रै पार्टीको महाधिवेशन गर्न माग गरेका छन् । सचिब विप्लवले अहिले आफू पार्टी विभाजन गर्ने सोचमा नभएको तर पार्टीलाई अघि बढाउन अध्यक्ष मोहन बैद्य किरणको पहल नपुगेको बताए । कपिलबस्तु भेलाका निर्णयहरु पार्टीको पूर्ण बैठकमा छलफल गर्ने र त्यसपछि आफ्नो पक्ष कसरी अघि बढ्छ त्यसबारेमा सोचेर अघि बढ्ने उनको कथन थियो ।
विप्लवले यसअघिको केन्दीय समितिको बैठकमा समय अभावका कारण सहभागी नभएपनि अर्को पूर्ण बैठकमा सहभागी हुने र त्यसमा आफ्ना कुराहरुबारे छलफल चलाउने बताए ।उनले माओवादी आन्दोलनमा टुटफुट र खेलाउने प्रयास भएको भन्दै यसलाई असफल पार्न सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्नु जरुरी रहेको ठोकुवा गरे ।
‘विप्लव’ समूहको कपिलवस्तुमा भएको भेलाले एकीकृत क्रान्तिमा जाने निष्कर्ष निकालेको छ ।दुई दिनसम्म चलेको भेलाले रास्ट्रीय पुँजीपतिवर्गको समेत सहभागितामा क्रान्ति गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
भेलामा देशका ६८ जिल्लाका साढे तीन सय नेता कार्यकर्ता सहभागी थिए । भेलामा सहभागी नेता वसन्त श्रेष्ठले प्रत्येक जिल्लाबाट एकएक जनाले कुरा राखेको बताए । सहभागीका अनुसार अधिकांशले तत्काल क्रान्तिमा जानुपर्नेमै जोड दिएका थिए ।
कस्तो खालको क्रान्ति गर्ने भन्नेमा छलफल भएको सहभागीले बताए । तत्काल छापामार युद्द गर्न कठिन हुने र विद्रोह पनि सहज नभएको निष्कर्ष भेलामा निकालिएको बताइएको छ ।
एकीकृत क्रान्तिका लागि वैद्यसहितको सिंगो पार्टी क्रान्तिमा जानुपर्ने पहिलो विकल्प भेलाले अगाडि सारेको छ । किरणसहित सिंगो पार्टी क्रान्तिमा जान नमानेमा सम्भव भएजति क्रान्तिमा जाने निर्णय भेलाले गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु