एकसाथ तीन छोरी जन्मेपछि …

२०७४ फाल्गुन ३० गते, बुधबार

काठमाडौँ , ३० फागुन । बझाङको विकट दुर्गाथली गाउँपालिका ५ भलानेकी सदिक्षा जप्रेलले शैनपसेला स्वास्थ्य चौकीमा तीनवटा छोरी जन्माएकी छन् । । १५ बर्षको उमेरमा विवाह गरेकी जप्रेलले २२ बर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको उनकी सासु अञ्जना जप्रेलले बताइन् । सदिक्षाका तीनवटै छोरी सकुशल छन् । एकसाथ तीन छोरी जन्माएपछि छिमेकी ठाउँ दौला, सैनपसेला, दुर्गाथली, भलाने लगायतकाबाट हेर्न जानेको भिड लाग्ने गरेको छ । तीनवटै छोरीको नाम समेत राखिएको अञ्जनाले बताइन् । उनका अनुसार जेठी छोरीको नाम आकृति, माईलीको नाम प्रकृति र कान्छीको नाम संस्कृति राखिएको छ । घरमा काम गर्ने कोही नभएका कारण हेरचाहमा समस्या भएको उनको भनाइ छ । ‘सासु र बुहारीमात्रै घरमा छौं,’ अञ्जनाले भनिन् । उनका अनुसार श्रीमान भिम जप्रेल र छोरा गजेन्द्र जप्रेल रोजगारी गर्नका लागि भारत गएका छन् । घरको सबै काम आफुहरुले गर्नु परेको उनले बताइन् । छोरीलाई जन्मदिए पनि घरको अवस्था कमजोर भएका कारण तीनवटै नातिनीको शरीरमा लगाउने कपडा सम्म किन्न नसकेको अञ्जना बताउँछिन् । ‘स्वास्थ्य चौकीबाट पाएका लुगाले अहिले गुजरा चलाई रहेका छौं,’ उनले भनिन्, ‘घरमा एक फुटेको कौडीसम्म छैन, केले लुगाफाटा किन्नु ?’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु